सरकारप्रति ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहीद घोषणा गरिएन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनको क्रममा मारिएका पार्टी नेता, कार्यकर्ताहरूलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार पार्टी केन्द्रीय कार्यालय बहरमहलमा आयोजित एक कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ मधेस आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरूलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ठाकुरले मधेस आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौता पनि तत्काल कार्यान्वयनमा ल्याउन सरकारलाई सचेत गराए । उनले सरकारले सो मुद्दा फिर्ता लिनेगरी कानुन निर्माणको काम अघि बढाएको जानकारी दिए पनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गरे ।

उनी भन्छन्, ‘अहिले पनि हाम्रा साथीहरू जेलमा छन् । मधेस आन्दोलनको दौरानको अधिकारको लागि र पहिचानसहितको संघको लागि जुन संघर्ष गरेको थियो, आन्दोलन गरेको थियो । त्यस दौरान हाम्रा धेरै साथीहरू मारिए । र, अहिले पनि कतिपय जेलमा छन् । कतिपयलाई मुद्दा चलिरहेको छ । हामी त्यसको आवाज उठाई रहेका छौँ अहिलेसम्म पनि । हाम्रो सम्झौता नै भएको हो कि राज्यले उनीहरूलाई छाडने र मुद्दा फिर्ता लिने । तर त्यो सम्झौता अहिलेसम्म लागू भएको छैन । जो संघर्षको दौरान मारिए । तिनीहरूलाई शहीदसम्म घोषणा गरिएको छैन । त्यो भन्दा बढी मुद्दा सम्बन्धी पनि केही गरिएको छैन । सुन्छु–कानुन संशोधनको लागि संसदमा आएको छ । र, अहिले पास भएको छैन त्यो । त्यसपछि यही राजनीतिक कारणले जो जेलमा परिरहेका छन्, मुद्दा चलिरहेको छ । त्यसलाई फिर्ता लिने जुन सम्झौता भएको छ । त्यो विधेयक पास भएपछि गर्न सकिन्छ । यो भन्दा अगाडि जो सानातिना सजाय थियो, त्यो चाहिँ छुटकारा भएको छ । र, दश लाखभन्दा कम दण्डजरिवान थियो । त्यो पनि मिनाहा भएको छ । कतिपय गम्भीर किसिमको जुन आरोप लगाइएको छ । त्यो आरोप सम्बन्धी कुनै कारबाही गरिएको छैन राज्यबाट, सरकारबाट । त्यस सम्बन्धमा सरकारको भनाई छ कि हामी विधेयक ल्याएका छौँ । त्यो पास भएपछि त्यसमा पनि कदम उठाइने छ भनेर ।’

कार्यक्रममा नेता राजेन्द्र महतोले सबै समुदायको पहिचानसहितको अधिकार प्राप्तिको आन्दोलनलाई अझै तीव्र गतिमा अघि बढाउने संकल्प पार्टीले लिएको बताए । सोही अवसरमा अध्यक्ष ठाकुरले पार्टीको झण्डोत्तलन गरेर गरेका थिए । नेता, कार्यकर्ताहरूले पार्टी स्थापनाको २ वर्ष पूरा भएको अवसर पारेर पार्टीलाई सशक्त बनाउने प्रणसहित शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *