मुलुकलाई संकटमुक्त गराउन राजाको शासन लागु हुुनुपर्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

उनले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै पर्ने जिकिर गरे । शुक्रवार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनस्र्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तीका लागि आन्दोलनमा जाने चेतावनी समेत दिए ।

उनले पार्टीको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रश्तुत गरेको बताए ।

अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोडनु परेको समेत बताए ।

उनले निर्वाचनबाट निर्वाचित हुनेहरुले राष्ट्रलाई अभिभावकत्व दिन नसक्ने भएकाले पनि नेपालमा राजसंस्थाको विकल्प नभएको पटकपटक दोहो¥याए ।

उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–देशको यो संकटबाट मुक्तिको निमित्त सबैभन्दा पहिले संघीय गणतन्त्रको नाउमा खडा भएको भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्दछ । यो भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक छ । यसको विकल्पमा राप्रपा नेपालले जनसम्प्रभुता अर्थात जनतामा निहीत सार्वभौमसत्ता, राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासन सहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रश्तुत गरेका छौं । यो विकल्पको बारेमा बहस गरौं । आवश्यक पर्छ भने यसबारेमा छलफल गर्नका निमित्त सर्वपक्षीय सम्मेलनको आयोजना होस् । जुन सम्मेलनमा राजादेखि विप्लव माओवादीसम्मका प्रतिनिधिहरुको सहभागिता होस् । देशका सबै प्रमुख राजनीतिक शक्तिहरुको सहभागिता होस् । र, यस्तो सर्वपक्षीय सम्मेलनले १७ वर्षदेखि मुलुकमा कायम रहेकोे यो भ्रष्ट व्यवस्थाको विकल्पमा खुला दिलले सोचौं । समझदारीको आधारमा नेपाली जनतालाई विकल्प दिऊ । त्यसर्थ हामीले यो भ्रष्ट व्यवस्थाको अन्त्य र सनातन हिन्दु अधिराज्य नेपालको माग राखेर आन्दोलन गर्दै गर्दा पनि हामी सहमति र सहकार्यको पक्षमा छौं । सहमति र सहकार्यकै माध्यमबाट समाधान खोज्न सकिन्छ । यदी प्रमुख राजनीतिक दल र नेताहरु तयार हुने हो भने । तर अहिलेको अवस्था हेर्दा प्रमुख राजनीतिक दलहरु सर्वपक्षीय सम्मेलन गर्ने कुरा त परै जाओस् । आफू सच्चिने कुरा त परै जाओस् । सामान्य सुधार पनि गर्न तयार छैनन् । चुनावबाट उठेको व्यक्ति सबैको साझा हुन सक्दैन । त्यसले संकटबाट सम्पूर्ण नेपालीलाई भावनात्मक एकता बाँध्न सक्दैन । त्यसका लागि राजसंस्था चाहिन्छ । त्यो संस्था नेपालको सन्दर्भमा राजसंस्था मात्रै हुनसक्दछ । केही समयको निमित्त हामीले राजसंस्था पुनस्र्थापनाको एजेण्डालाई छोडेका थियौं । पार्टीको आन्तरिक मामिलामा पटकपटक निर्मल निवास र दरबारबाट हस्तक्षेप भएको कारणले गर्दा राजसंस्थाप्रति आस्था राख्दाराख्दै यसको पुनस्र्थापनालाई कार्यनीति बनाएनौं ।’

अध्यक्ष थापाले ठूला दलहरु सच्चिने अवस्थामा नरहेकाले पनि आफूहरुले राजासहितको प्रजातन्त्रको लागि आन्दोलनमै जाने निर्णय लिनुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =