अनि बढ्दैन त प्याजको मूल्य ?

काठमाडौँ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा प्याज भित्रिएको छैन ।
सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।
समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिए । ‘भारतले प्याजमा प्रतिबन्ध लगाएको त होइन, निर्यात महसुल वृद्धि पो गरेको हो,’ उनले भने, ‘नियमित कालीमाटी आउने प्याज कहाँ गयो ? खोजी गर्नुपर्ने कसले हो ?’
कालीमाटीका व्यापारीहरू कालीमाटी भित्रिँदै आएको प्याज निर्यातकर्ताले अन्य बजारबाट महँगोमा बिक्री गरेको बताउँदै आएका छन् । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको थियो । उक्त महसुल २१ डिसेम्बर २०२३ सम्म लागु भएको हो ।
भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भएको आकलन गरिएको छ ।
आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुगेको छ । यसको भाउ खुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुन स्वाभाविक मूल्य हो ।
आयात कति हुन्छ ?
नेपालमा समय समयमा प्याजको अभाव भइरहन्छ । यसअगाडि गत जेठ महिनामा प्याजको अभाव भएको थियो र मूल्य पनि अकासिएको थियो । सरकारले तरकारी आयातमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेसँगै प्याजको मूल्य भोलिपल्टैदेखि बढ्न सुरु भएको थियो ।
सामान्य अवस्थामा पनि चाड नजिकिने बेला प्याजको मूल्य बढ्ने गरेको अधिकारीहरू बताउँछन् । वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलका अनुसार नेपालमा जम्मा खपतको ९० देखि ९५ प्रतिशत प्याज आयातित हुन्छ । ‘प्याजको आयात भारतबाट धेरै हुने भएकोले उसको नीतिमा परिवर्तन भएपछि त्यसको प्रत्यक्ष असर हाम्रो बजारमा देखिइहाल्छ,’ पौडेलले भने ।
कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार वर्षैपिच्छे नेपालमा १० हजार हेक्टर जमिनमा लगाइने प्याजबाट १ लाख ६९ हजार मेट्रिक टन उत्पादन हुन्छ । नेपालमा प्याजको उत्पादकत्व अर्थात् प्रति हेक्टर करिब १२ मेट्रिक टन उत्पादन हुन्छ ।
तर नेपाली बजारको माग भने ४ लाख १ हजार मेट्रिक टन रहेको जोशीले बताए । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको थियो । त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको थियो ।
आयातमा परनिर्भरता कम गर्दै लैजान नेपालमै उत्पादन बढाउनुपर्ने देखिन्छ । तर त्यसका लागि सरकारले थालेको तरकारी बालीको अभियानबाट उत्पादन बढाउन नसकिएको कृषिअर्थविज्ञ पौडेल बताउँछन् । ‘प्याज उत्पादनको अभियान नै चलाए पनि त्यो सफल हुनसकेको छैन,’ उनले भने ।
सरकारले विक्रम संवत् २०६६ सालबाट प्याजको उत्पादन बढाउन अभियान थालेको थियो । तर प्रभावकारी भने हुन सकेको छैन । बिउको उत्पादन बढाउन नसक्नुमा सीमित जग्गा, जनशक्ति र बजेटकै कारण नेपाल प्याज उत्पादन बढाउन थालिएको अभियान प्रभावकारी भएको देखिँदैन ।








