एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित
२०८० भदौ ५ गते

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।
बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा आजदेखि सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहानसम्म स्थगित गरिएको हो। आजको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा ९एमाले० बाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ।
उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरे। बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा भोलि धारणा राख्नेछन्। पार्टी मातहतका कमिटी तथा जनवर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ ।
पार्टीका महासचिव घनश्याम भुसालको साङ्गठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने छ ।
२०८० भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








