‘नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ ’

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? रहेको भनि उनले प्रश्न समेत गरे ।
मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त तर्क समेत गरे । संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाई थियो ।
उनले भने, ‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धि उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ । एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ । तर यो भन्दा पनि लज्जाको विषय नक्कली भूटानी शरणार्थी सम्बन्धि विषय हो । तर यसमा दलहरु किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस् । बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिकको संयोजकत्वमा संसद भन्दा बाहिरको व्यक्ति राखेर बनाइएको छानविन समिति भन्दा सार्वभौमसत्ता सम्पन्न संसदको समिति बनाउँदा बढी विश्वासयोग्य हुन्छ, भरोसा योग्य हुन्छ भन्ने मेरो धारणा हो । यसमा दलहरुले ध्यान दिनुप¥यो ।’
सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे ।








