सांसद सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ती गर्यो : उपेन्द्र यादव

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा. सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ती गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् ।

सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ ।

‘सुनिल शर्माले आइएसी गरे, एमबीबीएस गरे, कलेज चलाए, सांसद भए, त्यत्रो एकेडेमिक मान्छे, प्रतिष्ठित मान्छेलाई ल्याएर त्यसै थुन्दिने अनि छोड्ने यो त गलत हो नि,’ अध्यक्ष यादवले भने, ‘यस्ता गलत काम कसरी भइरहेका छन्, कसैलाई क्षणिक रुपमा हिरो बन्नका लागि मुलुकलाई अनिष्ट तर्फ धकेल्न खोजेको त हैन भन्ने विश्लेषण भइरहेको छ अहिले ।’

आफूले अपराधीलाई कहिल्यै प्रोत्साहन नगर्ने दावी गर्दै उनले सुनिल शर्मालाई अपराधी हो भनेर कसैले प्रमाणित गर्न सक्छ भन्दै प्रतिप्रश्न पनि गरे । सुनिल शर्मालाई पक्राउ गर्नु गलत भएको निष्कर्ष निकालेरै अदालतले पनि उनलाई थुनामुक्त गर्न आदेश दिएको भन्दै अध्यक्ष यादवले सरकारले यस्तो गलत काम गर्नु नहुने बताए ।

सरकारको गलत हर्कतले गर्दा सत्ता साझेदार दलहरूभित्र असन्तुष्टि चुलिँदै गएको भन्दै अध्यक्ष यादवले सरकारले गलत कामहरूलाई रोक्न नसके मुलुकमा अनिष्ट हुनेसक्ने संकेत पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *