प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ उजुरी, संसदीय सुनुवाइ आजदेखि

काठमाडौँ । संसदीय सुनुवाइ समितिको निर्णयअनुसार आज प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुने भएको छ । समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा मात्र उजुरी परेको थियो । समितिको सोमबार बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ ।

त्यसका लागि संसदीय सुनुवाइ समितिले उनलाई अहिले बिहान साढे ११ बजेका लागि बोलाउँदैछ । बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाइ थालिने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिएका छन् ।

यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरूलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो । संसदीय सुनुवाइका क्रममा उनले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन् । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =