सभामुख–सचेतकको बैठकमा कुरा मिलेन, एमालेले सदन चल्न देला ?

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ ।

बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ । अब यहाँ कुरा मिल्न सकेन । अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ ।’

बैठकमा आफूले दुवैतर्फको अडानले संसद्लाई बन्दी बनाउँदा राम्रो नगरेको बैठकमा राखेको बताए ।

उनले भने, ‘सदनमा अन्य दल पनि छन् । जनमतको लोकप्रियता पनि बुझ्नुभएको छ । हामी जनताबाट आएको हौँ फेरि जनतामै फर्किएर कुरा राख्छौैं तर, यहाँ व्यवस्थामाथि नै प्रश्न उठ्यो ।’

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ । सरकार समिति गठनको पक्षमा नहुँदा अझै कुरा मिल्न नसकेपछि प्रधानमन्त्रीले पनि बैठक राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =