अमरेश कुमार सिंह भन्छन्- शेरबहादुर देउवाले डा. सुनील शर्मालाई पक्रन लगाएका हुन् (भिडिओ)

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कांग्रेस सांसद डा. सुनील शर्मालाई कांग्रेसकै सभापति शेरबहादुर देउवाले पक्राउ गराएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माहरूलाई तर्साउन देउवाकै डिजाइनमा सांसद शर्मालाई पक्राउ गराइएको आरोप लगाएका हुन् ।

कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला आफ्नो विपक्षमा रहेका नेताहरूलाई तर्साउन सभापति देउवाले नै सांसद शर्मालाई पक्राउ गराएको सिंहको भनाई छ । ‘कांग्रेसभित्र अहिले संसदीय दलको नेता फेर्ने कुरा उठिरहेको छ, देउवा प्रधानमन्त्री बन्नु हुँदैन भन्ने कुरा आइरहेको छ, त्यसैले देउवाले सुनील शर्मालाई पक्राउ गराएर शेखर कोइराला, गगन र विश्वप्रकाशहरूलाई तर्साएका हुन्,’ सांसद सिंहले भने, ‘यो छोरी कुटेर बुहारी तर्साएको जस्तो हो, देउवाले मेरो विरुद्धमा बोल्दा सुनिल शर्माको हालत बनाइदिन्छु भनेर देखाउन खोजेका हुन् ।’

देउवाको विना जानकारी कांग्रेसको सांसदलाई सरकारले थुन्न नसक्ने उनले दाबी गरे । ‘३२ सिटको पार्टीले सरकार चलाइरहेको छ, सरकारमा सहभागी ८७ सिटको पार्टीको निर्वाचित सांसदलाई पक्राउ गर्दा त्यो पार्टीको सभापतिलाई जानकारी नदिई सरकारले थुन्न सक्छ ? यो हुनै सक्दैन, यो कसैले पत्याउने कुरै हैन,’ उनले भने ।

अहिलेका चर्चित भ्रष्टाचारका काण्डहरूमा चुप बसेर २५ वर्ष अगाडिको एउटा सर्टिफिकेटको विषय झिकेर सांसदलाई थुन्नुको कुनै औचित्य नभएको उनले बताए । देउवाले गलत कदम चालिरहेको उदाहरण दिँदै सांसद सिंहले यही कारण २०८४ सालको निर्वाचनमा कांग्रेस टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्ने टिप्पणी पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =