प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुग्यो : कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको विवरण सार्वजनिक गरेका छन् ।

नेपाल विद्‍युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

यस्तो छ उनको मतव्यको पूर्णपाठ

विभिन्न आरोहअवरोह पार गर्दै प्राधिकरणले आफ्ना ३८औं वसन्तपार गरी ३९औँ वर्षमा प्रवेश गरेको छ । यस शुभअवसरमा सम्पूर्ण कर्मचारीहरु, उपभोक्ता, शुभचिन्तक तथा सहयोगी सङ्घसंस्थाहरुप्रति हार्दिक अभार व्यक्त गर्दछु ।

आफ्नो अतिनै व्यस्त समयका बाबजुद पनि हाम्रो आतिथ्यतालाई स्वीकार गरी प्रमुख अतिथिको रुपमा यस कार्यक्रममा गरिमामय उपस्थिति जनाएर हामीलाई हौसला प्रदान गरिदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

सम्माननीय प्रधानमन्त्रीको गरिमामय उपस्थितिले हामीलाई थप उत्साहित बनाउनुको साथै उहाँबाट प्राप्त निर्देशनले आगामी दिनका क्रियाकलापहरुलाई निर्देशित गर्दै थप जिम्मेवार बनाउने छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा हसिल गरेका मुख्य मुख्य उपलब्धीहरु डकुमेन्ट्रीमार्फत प्रस्तुत गरिसकिएको छ ।
करिब ७ वर्षअघि वर्षात्मा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ नेपाली जनताले व्यहोरेका थिए । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ प्रक्षेपण गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेको अवस्थामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको स्पष्ट निर्देशन र बलियो साथ पाएको विद्युत प्राधिकरणले २०७३ सालको कात्तिकबाट राजधानी काठमाडौं उपत्यकासहित प्रमुख सहरहरुबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो । औद्योगिक क्षेत्रको समेत लोड सेडिङ अन्त्य गरी २०७५ सालको वैशाखबाट देशलाई पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो ।

सरकारले प्राधिकरणको आर्थिक वर्ष २०६७/६८ सालसम्मको २७ अर्ब १९ करोड रुपैयाँ संचित घाटालाई अपलेखन गरिदिए पश्चात पनि घाटामा जाने क्रम रोकिएको थिएन । घाटा अपलेखन गरिएको पाँचौ वर्ष अर्थात आर्थिक वर्ष २०७२/७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड र संचित नोक्सानी फेरि बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास सुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ ।

सर्वसाधारणलाई समेत शेयर जारी गर्ने गरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनर्संरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको छ । प्राधिकरणको प्राथमिक सेयर सर्बसाधारणलाई निश्कासन गरी संकलन भएको रकम मुख्य रुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने छ । प्राधिकरणको सम्पूर्ण सम्पत्तिको वास्तविक मूल्याङ्कन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था ईक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ । संस्थाभित्रको आर्थिक पारदर्शीता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको छ ।

प्रसारण तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छौं । प्राधिकरणको केन्दीय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघुजलविद्युत एवम् सौर्य विद्युतबाट करिब ३ प्रतिशत गरी करिव ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्षभित्र पूर्ण रुपमा विद्युतीकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी आवश्यक कार्य अगाडि बढाइएको छ ।

वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई पर्याप्त, विश्वसनीय तथा गुणस्तरीय बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका रणनीतिक महत्वका रुपान्तरणकारी ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा बढी भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणको हरेक गतिविधि अगाडी बढेकोे छ ।
उच्च आर्थिक बृद्धि हासिल गर्ने सरकारको लक्ष्यअनुसार आवश्यक उर्जा उत्पादन, प्रशारण तथा वितरण गर्न मात्र होइन संस्थालाई अनुशासित र सम्मानित गराउने स्पष्ट दृष्टिकोणका साथ प्राधिकरण अघि बढिरहेको छ ।

सम्मानीय प्रधानमन्त्रीज्यूको हालसालै भएको भारत भ्रमणका क्रममा दुई देशबीच भएको सहमतिले दीर्घकालीन विद्युत निर्यातको बाटो मात्र खोलेको छैन नेपालको जलविद्युत विकासका लागि उपयुक्त वातावरण बनेको छ । साथै, नेपालको स्वच्छ हरित ऊर्जाको क्षेत्रीय तथा उपक्षेत्रीय बजार भारत र बंगलादेशसम्म विस्तार हुने सुनिश्चितता भएको छ ।

बिगतमा वर्षायामको समयमा पनि लोडसेडिङबाट गुज्रिरहेको नेपाल अहिले आन्तरिकरुपमा पर्याप्त विद्युत खपत गरी बढी भएको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको छ । अहिले करिव ४५२ मेगावाट विद्युत भारतर्फ निर्यात भइरहेको छ भने थप निर्यातका लागि प्रस्ताव पेश गरिएको छ । भारतको हरियाणा राज्यलाई विद्युत आपूर्ति गर्ने गरी भारतीय विद्युत व्यापार कम्पनी एनभिभिएन सँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालीन विद्युत बिक्री सम्झौता सम्पन्न भएको छ । साथै, भारतको बिहार राज्यको प्रसारण पूर्वाधार प्रयोग गरी ३०० मेगावाटसम्म विद्युत निर्यातका लाति पिटिसी, इन्डियासँग सम्झौता गरिएको छ ।
नेपालका अधिकांश जलविद्युत आयोजना नदी प्रवाही भएकाले हिउँदका केही महिनामा अझै पनि विद्युत आयात गर्नु पर्ने अवस्था छ । यो अवस्था अगामी केही वर्ष रहने देखिन्छ । तथापि, चाँडै नै आन्तरिक उत्पादन बढाएर हिउँदमा समेत आयात गर्नु नपर्ने अवस्थामा पुर्याउने हाम्रो प्रयास जारी रहने छ ।

नेपालको विद्युत बंगलादेशसम्म निर्यातका लागि अब चाँडै ढोका खुल्दैछ । विद्युत निर्यातका लागि प्राधिकरणले उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणलार्ई उच्च प्राथमिकतामा राखी सोहीअनुसार कार्य अगाडि बढाइएको छ । आन्तरिक रुपमा पनि प्रसारण तथा वितरणका संरचनाहहरुको सञ्जाल विस्तार तथा सुधारका अभियान संचालन गरिएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमणका क्रममा नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइनको भारतीय खण्ड निर्माणका लागि शिलान्यास भइसकेको छ भने नेपाल खण्ड निर्माणका लागि कार्य अगाडि बढाईएको छ । यसका अतिरिक्त, अन्य विन्दुहरुबाट पनि अन्तरदेशीय प्रसारण सञ्जाल विस्तारका लागि अध्ययन भईरहेको छ ।
प्राधिकरणले मुलुकको ऊर्जा माग धान्न विद्युत खरिद बिक्री सम्झौतामार्फत जलविद्युतमा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेको छ । पहिलोपल्ट आधार दर तय गरी करिब १०० मेगावाटको सौर्य ऊर्जा प्रतिश्पर्धाबाट खरिद गर्न लागिएको छ ।
नेपालमा रहेको जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी विद्युत उत्पादन बढाउन ठूला आयोजनाहरुमा ठूलो लगानी गर्नुआजको आवश्यक हो । सरकारको निर्णयबमोजिम प्राधिकरणले राष्ट्रिय गौरबको १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना सीघ्र कार्यान्वयनमा लैजाने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।
१०६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजना विश्व बैंकको नेतृत्वमा र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना एसियाली विकास बैंकको नेतृत्वमा ऋण लगानी गर्ने गरी अगाडि बढाइएको छ । साथै २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौ र ६० मेगावाटको मोदी जलविद्युत आयोजनाहरुको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजना भारतको सतलज जलविद्युत निगमसँग र ६३८ मेगावाटको सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा आगामी दिनमा विकास गरिने छ । सबै आयोजनाहरु नागरिकहरुको समेत व्यापक लगानी सहभागितामा निर्माण गरिने छन् ।
देशभित्र रहेका ठुला जलाशययुक्त जलविद्युत आयेजनाहरु र पम्प स्टोरेज आयोजनाहरुको अध्ययन कार्यलाई पनि प्राकिरणले विशेष प्राथमिकतामा राखेको छ ।

ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरिया र काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र प्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । भविष्यमा उर्जाको प्रमुख श्रोतको रुपमा विकास भैरहेको हरित हाईड्रोजनको उत्पादन एवम् प्रवद्र्धनको लागि प्राधिकरणको ध्यान केन्द्रीत रहनेछ ।

प्रसारण लाइनका आयोजनाहरु निर्माणमा मुख्य रुपमा स्थानीयको अवरोध र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानमा ठूलो समस्या रहेको छ । वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानको स्वीकृतिका लागि एकातर्फ लामो समय लाग्ने गरेको छ भने अर्कोतर्फ ठूलो रकम सरकारकै अर्को निकायलाई क्षतिपूर्ति स्वरुप तिर्नु पर्ने अवस्था छ । यसले गर्दा आयोजनाको अवधि लम्बिने मात्र हैन हाम्रो उत्पादित विद्युतको मुल्य महँगो हुँदै गइरहेकोे छ ।

आगामी दश वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानून व्यापक संसोधन वा प्रतिस्थापन गर्नु पर्र्ने टड्कारो आवश्यता देखिन्छ । वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालू आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रमहरु त घोषणा गरिएका छन् तर यसकोे कार्यान्वयनमा अझै जटिलता देखिन्छ ।

सूचना प्रविधि नीति तयार गरी संस्थाको सेवालाई अझै आधुनीकिरण तथा स्वचालित बनाउन लागिएको छ । प्राधिकरण समय र परिस्थितिको माग अनुसार संगठन संरचनालाई पुनर्संरचना गर्दै आफ्नो व्यवसायलाई अझ प्रभावकारी र सेवामूलक वनाउन कटिवद्ध छ । आगामी दिनमा विद्युतको आन्तरिक, अन्तरदेशीय र उप क्षेत्रीय वजार विस्तार गर्दै देशभित्र उत्पादित विद्युत खेर नजाने गरी खपत गर्ने कार्यक्र अगाडि बढाईनेछ ।

प्राधिकरणले प्रदान गर्ने सेवामा प्रभावकरिता ल्याउन, प्रणालीलाई स्वचालित रुपमा संचालन गरी भरपर्दो र गुणस्तरीय विद्युत आपुर्ति दिन तथा प्रविधिको प्रयोग गरी जनशक्तिको बढ्दो आवश्यत्तालाई कम गर्दै लैजान प्रणालीलाई स्वचालित र संस्थालाई डिजिटाईजेसन गर्ने कार्यलाई उच्च प्रथमिक्ता दिईने छ । सूचना प्रविधि मार्गचित्रलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याई ‘डिजिटल एनइए’ अवधारण अनुरुप प्राधिकरणका हरेक क्रियाकलापलाई डिजिटल प्रविधिमा रुपान्तरण गरिने छ ।
आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण छ । आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु, उत्पादित विद्युतको वजार व्यवस्थापन गर्नु, विद्युत आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु प्राधिकरणका मुख्य चुनौतीहरु हुन् । सबैको साथ र सहयोगमा यी चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई सुपथ मुल्यमा पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हर सम्भव प्रयास गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।

आभार
ऊर्जा क्षेत्रको समग्र विकास गरी मुलकमा उपलब्ध अतिरिक्त ऊर्जा दिर्घकालीन रुपमा निर्यात गर्न अनुकुल वातावरण सृजना गरी स्पष्ट मार्ग निर्देशन गर्नु भएकोमा सर्वप्रथम सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

प्राधिकरणलाई स्पष्ट दिशानिर्देश गरी सफल संस्थाको रुपमा विकास गर्न गतिशील नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष माननीय श्री शक्ति बहादुर बस्नेतज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

प्राधिकरणलाई निरन्तर मार्गनिर्देश गरी तोकिएका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्नु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री दिनेश कुमार घिमिरेज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि हुने गरी आवश्यक नीतिगत निर्णय गर्नसमेत अमूल्य सहयोग र सुझाव प्रदान गरी सहयोग गर्नुहुने प्राधिकरण सञ्चालक समितिका सबै सदस्यज्यूहरु प्रति आभार व्यक्त गर्दछु ।

नेपाल विद्युत प्राधिकरणलाई निरन्तररुपमा आवश्यक सहयोग, समन्वय, समर्थन र विश्वास गर्र्नेे नेपाल सरकार, प्रदेश सरकार, विभिन्न मन्त्रालयहरु, संबैधानिक तथा कानूनी निकाय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, उद्योग बाणिज्यसँग सम्बन्धित संस्था, विकास साझेदारसँग सम्बन्धित निकायहरु, विद्युत व्यापार गर्न उल्लेख्य सहयो गर्ने स्वदेशी तथा विदेशी सँस्थाहरु, परामर्शदाता, निर्माण व्यवसायी, आपूर्तिकर्ता, ऊर्जा उद्यमी तथा सोसँग सम्बन्धित संस्थाहरुलाई समेत धन्यवाद दिन चाहन्छु ।

I also express my sincere gratitude to the development partners including World Bank, ADB, JICA, EIB, AIIB, KfW, Norweigen Aid, USAID, Exim Bank of India, Exim Bank of China and Exim bank of Korea, who have always helped us in the past and are willing to continue their support in the coming days to achieve our goal of fulfilling the growing needs of energy.

प्राधिकरणका काम कारबाहीहरुको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणका हरेक कार्यहरुमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित प्राधिकरणका आधिकारिक ट्रेड यूनियन, क्रियाशिल ट्रेड युनियनहरु एवम् सम्पूर्ण कर्मचारीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

कठिन परिस्थितिमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दछु ।

आवश्यक सुरक्षा र सतर्कताका बाबजुद गत वर्ष पनि विद्युतीय दुर्घटनाका कारण आफ्नो ज्यान गुमाउनु हुने प्राधिकरणका कर्मचारी तथा सर्वसाधारण प्रति हार्दिक समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । आगामी दिनहरुमा विद्युतीय दुर्घटना हुन नदिन थप सतर्कता अपनाइ प्रभावकारी सुरक्षा उपाय अवलम्वन गरिने विश्वास समेत दिलाउन चाहन्छु ।

अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार प्रकट गर्दछु ।

धन्यवाद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =