आगामी आमनिर्वाचन देउवा नेतृत्वको सरकारले गराउँछ-कांग्रेस नेता निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले २०८४ सालको आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन्।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै २०८४ सालको आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको स्मरण गराए।

‘चालु संसद पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो। यो संसद पाँच वर्ष नै कायम रहन्छ,’ निधिले भने, ‘२०८४ सालमा हुने आमनिर्वाचनसम्म देशले तीन प्रधानमन्त्री पाउने छ। संसद विघटन हुने छैन।’

सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद विघटन हुनु अस्थिरता रहेको उनले बताए।

कांग्रेस नेता निधिले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि कांग्रेसको संगठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग पनि आग्रह गरे।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका स्व पिता सोमनाथ ढुंगानाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि दिन निधि धादिङ पुगेका हुन्।

नेपाली कांग्रेस धादिङले आयोजना गरेको श्रद्धाञ्जलि सभामा कांग्रेस सभापति शेरबहादुर देउवा समेत सहभागी थिए।

सभापति देउवाले पञ्चायती व्यवस्थाको समयमा पनि जनताको मत जितेर लोकतन्त्रको पक्षमा काम गरेकाले कांग्रेसजनले सोमनाथ ढुंगानालाई प्रेरणाको रूपमा लिनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *