के अब यो गणतन्त्रको मिति पुगेकै हो त ?

काठमाडौँ । पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको सालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको सालिक हटाएपछि चर्को विरोध भइरहेको हो ।
पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक पुनःस्थापनाका लागि दबाब दिइएको प्रदर्शनमा प्रहरीले दमन गरेपछि व्यवसायी दुर्गा प्रसाईँले विरोध गरेका छन् । ‘पोखराको पृथ्वी चोकमा रहेको राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सालिक पुनर्स्थापनाको माग राख्दै प्रदर्शनमा उत्रिएका राष्ट्रवादीहरूमाथि किन प्रहरी दमन गर्न खोजिँदै छ ? कसले,किन र के’का लागि दमन गर्न निर्देशन दिँदैछ ? कुरो गम्भीर छ !,’ उनले भने ।
विरोध प्रदर्शनबाट पछि नहट्न उनले आग्रह गरेका छन् , ‘यी लेन्डूपेहरुले देश विदेसीहरुलाई सुम्पँदै छन्, खबरदारी जारी राखौँ ! लेन्डुपे हरूलाई नलखेटेसम्म राष्ट्र र राष्ट्रियता नरहने प्रस्ट हुँदैछ,’ प्रसाईँले भनेका छन्, ‘पोखरामा भएको प्रदर्शनमा सहभागी सम्पूर्ण अभियन्ता साथीहरूलाई पछि नहट्न अनुरोध गर्दै हाम्रो साथ सहयोग र समर्थनका साथै ऐक्यबद्धता जाहेर गर्दछौँ !’








