सुनील शर्माको नयाँ फर्मुला- ‘आरजु देउवा प्रधानमन्त्री-शेखर कार्यवाहक सभापति, कांग्रेस मिल्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेतृ आरजु राणा देउवालाई प्रधानमन्त्री बनाएर कांग्रेस एकढिक्का हुने बताएका छन् । उनले नेता डा. शेखर कोइरालालाई कार्यवाहक सभापति र आरजुलाई प्रधानमन्त्री बनाएर पार्टी एकढिक्का हुने बताएका हुन् ।

उनले आरजु आफ्नो अभिभावक भएको भएको भन्दै प्रधानमन्त्री बन्ने लाइनमा रहेको खुलासा गरे । ‘कांग्रेसलाई मिलाउने हो भने मसँग नयाँ फर्मुला छ त्यो के हो भने– गगन जी शेखर दाइहरू सबैले बसेर एक वर्षलाई आरजु देउवालाई प्रधानमन्त्री दिने । शेरबहादुर दाइले डा. शेखर कोइरालालाई १ वर्षको लागि कार्यवाहक सभापति दिने र त्यसपछिको प्रधानमन्त्री गगन, विश्वप्रकाश वा चन्द्र भण्डारी दाइहलाई दिने,’ उनले प्राइम टेलिभिजनको कार्यक्रम (जनता जान्न चाहन्छन्)मा प्रस्तोता ऋषि धमालासँग भने, ‘शेखर दाइले सभापतिपछि प्रधानमन्त्री भएर अर्को पुस्तालाई हस्तान्तरण गरिदिने । यो पाँच वर्षभित्रमा शेरबहादुर देउवा र शेखर कोइरालाबाटै नेपाली कांग्रेस मिलाउन सकिन्छ, यदि उहाँहरू इमानदार हुनुभयो भने ।’

तर यो सबै निर्णयको अधिकार मात्र शेरबहादुर देउवासँग गरेको सांसद शर्माले बताए । उनले अगाडि भने, ‘यदि शेरबहादुर देउवा तयार हुनुभयो, यो म अर्को पुस्तालाई हस्तान्तरण गर्न तयार भए अब के हो त समाधान दिनुस् भनेर भनेको खण्डमा गगन, विश्वप्रकाश, डा शेखर-शशांकहरु प्रस्ताव गर्नुहुन्छ । ल शेरबहादुर दाइ भन्नुस् तपाईँलाई के गर्दाखेरि सजिलो हुन्छ, पुस्तान्तरण गर्न भन्दा, उहाँ (शेरबहादुर)ले भन्नु हुन्छ ल म सभापति पनि छोडिदिन्छु १ वर्षलाई मेरो श्रीमतीलाई प्रधानमन्त्री बनाइदिनुस् भनेर भन्नुभयो भने कांग्रेसभित्र नयाँ समाधान आउँछ ।’

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंकवादीको संज्ञा दिएका उनले अहिलेको सरकार पूर्ण असफल रहेको तर्क गरे । ‘अहिले हामी बसेको सरकार पूर्ण असफल सरकार हो किनभने म मोरङ क्षेत्र नम्बर ३ बाट आएको सांसदले मेरो ठाउँमा एउटा पुल बनाउने सकेको छैन, ‘सांसद शर्माले भने, ‘मेरो अर्थमन्त्रीले मलाई एउटा पुल बनाउने पैसा दिन सक्नुभएको छैन । अनि यो सफल कि असफल ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *