सरकारको स्थिरतामा शंका गर्नुपर्दैन, पाँचै बर्ष चल्छः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन् ।

शनिवार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे ।

उनले व्यापार, व्यवसायमा रहेका समस्याहरुको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताए । उनले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताए ।

उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए ।

उनले भने, ‘हाम्रो मुल केन्द्रबिन्दु भनेको नेपालको अहीत नहोस्, नेपाली नागरिकको अहीत नहोस्, नेपाली माटोको रक्षा गर्ने कुरामा कतै असर नपरोस् मुल उद्देश्य त्यहाँ राखेर हामीले गर्ने सुधार परिवर्तन, हामीले ऐन, नियम, नीतिमा, व्यवहारमा र निर्णयमा गर्ने सुधार र परिवर्तनहरु त्यसलाई केन्द्रमा राखेर गरेको खण्डमा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने निधार खुम्च्याउनु पर्ने, असहज मान्नुपर्ने कुनै कारण छैन । त्यसका लागि वर्तमान सरकार प्रतिवद्ध छ । अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउनको लागि मुलुकमा सुशासनको अनुभुति नागरिकलाई दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनका लागि सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरुलाई साथमा लिएर साझा उद्देश्यमा रुपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्र सहित वर्तमान सरकार अघि बढेको छ । यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन । हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौँ । तपाईहरुसँग जोडिएका समस्या समाधान गर्ने कुरामा समयवद्ध तरिकाले अघि बढ्नेछौँ ।’

उपप्रधानमन्त्री खड्काले राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरुका केही हदसम्मका समस्याहरु समाधान गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =