सांसद सुनिल शर्मालाई पक्राउ गर्नु आपत्तिजनक : कांग्रेस

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । शुक्रवार नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो ।
बैठकमा सांसदहरूले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भीरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले सो घटनाबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आइतबार साढे १२ बजे पुनः संसदीय दलको बैठक बोलाएको छ । आज सांसदहरूले सो घटनाबारे आ–आफ्नो धारणा राखेकाे र आइतबार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने पनि प्रमुख सचेतक लेखकले बताए ।
उनले भने ‘मूलतः आज हामीले पाँच वटा निर्णय गरेका छौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज स्थगित भएको छ । पर्सी साढे १२ बजे पुनः यसै स्थानमा हामी बैठक बस्छौँ । एउटा पछिल्लो समयमा अविरल वर्षका कारण देशभर बाढी, पहिरो र डुबानको समस्या भएको छ । बाढी, पहिरो र डुबानले धेरै मानिसहरूले ज्यान गुमाउनुपरेको छ । ठूलो जनधनको क्षति भएको छ । गाउँबस्तीमा मानिसको घर बसोबास, जग्गाजमिनमा क्षति भएको छ । त सार्वजनिक सरकारी र निजी भौतिक संरचनाहरू पनि ध्वस्त भएका छन् । र, खास गरेर यो सबै विषयहरू हेर्दाखेरी अत्यन्त अप्ठ्यारो अवस्था देखा परेको छ । र, आषाढको महिना चाहीँ सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरमा गएको बाढीका कारणले त्यहाँ जनजीवन नकारात्मक भएको विषय पनि छ । त्यसो भएको हुनाले हामीले आजको बैठकबाट यो जुन सडक अवरुद्ध भएको छ ठाउँ ठाउँमा । तत्काल सरकारलाई हामीले बाढी, पहिरो र डुबानबाट भएको हुन हानिनोक्सानी छ । त्यसका बारेमा प्रभावितहरूलाई, पीडितहरूलाई राहत गर्ने, उद्धार गर्ने, पुनर्स्थापना गर्ने काम गर्ने, भौतिक संरचनाहरूको पुनर्निर्माण गर्ने र अवरुद्ध सडक यातायात सुचारु गर्नका लागि सरकारसँग हामीले माग गरेका छौँ । दोस्रो निर्णय, देशव्यापी रूपमा लम्पी स्किन फैलिएको छ । यसले हजारौँ पशुचौपायहरुको मृत्यु भएको छ । लाखौँ रोगग्रस्त भएका छन् । र, किसानलाई ठूलो मर्का भएको छ । त्यसकारण किसानलाई राहत दिन, क्षतिपूर्ति दिन र लम्पी स्किनको चाँडो भन्दा चाँडो औषधि उपचार गर्नका लागि सरकारसँग हामीले ध्यानाकर्षण गराएका छौँ । देशव्यापी रूपमा डेंगु फैलिएको छ । र, आँखामा इन्फेक्सन हुने रोग पनि फैलिएको छ । यसको उपचारको उचित व्यवस्था गर्न र चाँडोभन्दा चाँडो रोकथाम र उपचार गर्न सरकारसँग माग गर्ने निर्णय गरेका छौँ । अर्को, तराई मधेसका जिल्लाहरूमा अहिले अल्पवृष्टि भएका कारणले र बर्सात नभएका कारणले रोपाइँ हुन नसकेको अथवा कम रोपाइँ भएको स्थिति छ । धानको कम खेती लगाउने काम भएको छ । र, भूमिगत जलको सतह घटेको हुनाले खानेपानीको पनि समस्या भएको हुनाले यसमा खानेपानीको व्यवस्था गर्न र किसानहरूलाई जुन पीडा भएको छ । यसबारे उचित ध्यान दिन हामीले सरकारलाई आग्रह गरेका छौँ भने पाँचौँमा हामीले आजको बैठकमा माननीय नेपाली काँग्रेसका नेता पनि, मोरङ जिल्लाबाट निर्वाचित सांसद माननीय सुनिल शर्माजीलाई पक्राउ गरिएको अवस्था छ । त्यो पक्राउ गरिएको विषयलाई लिएर आजको संसदीय दलको बैठकमा माननीयजीहरूले गम्भीरतापूर्वक विचारहरू राख्नुभएको छ । यो पक्राउ आपत्तिजनक हो । यो पत्र अप्रत्याशित छ । र, यो पक्राउ अनुचित छ भन्दै यो विषय अत्यन्तै गम्भीर छ भनेर आफ्ना धारणाहरू राख्नुभएको छ । र, यी धारणाहरूलाई बैठकले, नेताहरूले गम्भीरतापूर्वक सुनेको छ । लिएको छ । र, पर्सी हामी फेरि बैठक बस्छौँ । र, त्यसमा पनि यी विषयहरू प्रस्तुत हुने नै छन् । यसको बारेमा हामी पर्सी नेपाली काँग्रेसका धारणा सार्वजनिक गर्नेछौँ । त्यसमा नेपाली काँग्रेसका धारणा हामी अभिव्यक्त गर्ने नै छौँ । यो विषयमा पनि आज यही निर्णय भएको छ । आज विचार उठेको छ । आपत्तिजनक, अप्रत्याशित र गम्भीर विषय यो भएको छ भनेर साथीहरूले उठाउनुभएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । र, थप विषय वस्तुलाई हामी गहियाईमा पुग्छौँ । थप छलफल हुन्छ । र, यसको पूर्ण निर्णय हामी पसीमा दिनमा गर्छौँ । ’
त्यसैगरी बैठकले बाढी, पहिरो र डुबान पीडित तथा लम्पी स्किन महामारीको मारमा परेका किसानहरूलाई उचित क्षतिपूर्ति र राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । त्यसैगरी काँग्रेस संसदीय दलले डेंगु महामारी नियन्त्रण र आँखामा इन्फेक्सन हुने रोग नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख सचेतक लेखकका अनुसार बैठकले खानेपानीको अभाव र कम वर्षाका कारण धानबाली लगाउन नसकेका तराईका किसानहरूको समस्या पनि तत्काल समाधान गर्न सरकारलाई दबाब दिएको छ ।








