अमेरिका, चीन र भारतीय अधिकारीको भ्रमण बाक्लिँदा नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्यो

काठमाडौँ । प्राध्यापक डा. खड्ग केसीले नेपालको राष्ट्रिय सुरक्षा गम्भीर बन्दै गएको बताएका छन् ।
बिहीबारको राष्ट्रिय सरोकार समितिमा परराष्ट्र सम्बन्धबारे आफ्नो प्रस्तुति दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध गम्भीर बन्दै गएको बताएका हुन् । उनले नेपालमा राजनीति भेटघाटका क्रममा जतिधेरै अमेरिकन, चाइनिज र भारतीय अधिकारीहरूको आगमन बढ्छ त्यत्ति धेरै नेपालको राष्ट्रिय सुरक्षा गम्भीर हुने बताए । उनले राजनीतिक नेतृत्व इमानदार भएर काम गर्न नसकेको बताए । उनले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा सबै राजनीतिक दलहरू एक हुनुको विकल्प नरहेको बताए ।
उनले भने ‘हिजो हामी एक पटक भूगोलको बारेमा एक ठाउँमा उभियौँ । सीमा नक्साको बारेमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिए । यो पछिल्लो समयमा राष्ट्रिय स्वार्थ, भौगोलिक अखण्डताको रक्षाका लागि गर्न खोजेको एउटा महत्त्वपूर्ण अभियान त्यो पनि हो । त्यसमा हामी सबै एक ठाउँमा उभियौँ । परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा यसरी नै जहिल्यै पनि उभिनुपर्छ । यो भन्दा अर्को विकल्प छैन । राजनीतिक नेतृत्व इमानदार छ भने सहमति नभईकन उसले देशको पक्षमा काम गर्छ भने के फरक पर्छ ? तर दुर्भाग्य के भयो भने राजनीतिक नेतृत्व, सार्वभौमिक सत्ता हामीसँग छ । प्रधानमन्त्री, मन्त्री हामी जनताप्रति जिम्मेवारी हुनुपर्ने हो । काठमाडौँमा जति अमेरिकन र चाइनिजहरूको भ्रमण बाक्लिएको छ, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध त्यत्ति नै गम्भीर छ भन्नेकुरा हाम्रो राष्ट्रिय सुरक्षा त्यत्ति नै गम्भीर बन्दै गएको छ ।’
समितिको बैठकमा बोल्दै नेकपा एमालेका राष्ट्रिय सभा सदस्य कुमार दसौदीले राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पुर्याउन नागरिकता दिनेकुराले पनि भूमिका खेलेको बताए । उनले नागरिकता सहजै उपलब्ध गराउने कुराले नेपालको राष्ट्रिय सुरक्षामा कति असर गर्छ भनेर सोच्न जरुरी रहेको उल्लेख गरे ।
उनले भने ‘हाम्रो राष्ट्रिय सुरक्षालाई गम्भीर अवस्थामा पु¥याउन नागरिकता दिनेकुरा लुज बनाएर पनि भएको छ । त्यसमा चुनौती कति छ, त्यसको भूमिका कति हुनसक्छ रु किनभने छिमेकमा अर्बौँ मानिस बस्ने देश छन् । कतै हाम्रा नेतृत्व गर्ने मान्छे, सरकारमा जाने, सरकारका निकायका विभिन्न तहमा बस्ने मानिस मुलुकलाई असफल बनाउन तस्करीका खेल बनाएर विश्वमै असफल राष्ट्र बनाउन खोजेका त छैनन् ।’
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बदलिएकाले सबैभन्दा पहिला नागरिकलाई दिएको नारा पूरा गर्न लाग्नुपर्ने बताए । उनले नागरिकलाई दिएको वाचा पूरा गर्न नसके बाह्य मात्रै नभई आन्तरिक रूपबाट पनि देश कमजोर बन्ने बताए ।
उनले भने ‘अहिले परिस्थिति बदलिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय पनि । साम्राज्यवादीहरुले पनि शोषणको रूप बदलेका छन् । राजनीतिक नेताहरूको प्राथमिकता बदलिएको छ । समृद्ध राष्ट्र प्राथमिकता हो भनिसकेपछि आम नागरिकलाई दिएको नारा पूरा गर्नका लागि लाग्नुपर्छ । त्यो पूरा गर्न नसके आन्तरिक रूपमा पनि हामी कमजोर हुन्छौँ ।’
उनले अमेरिका, भारत र चीनको हस्तक्षेपको स्थिति बढ्नु नेपालको राष्ट्रिय सुरक्षाको चुनौतीका रूपमा रहेको उल्लेख गरे ।








