प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्ष : एमालेले शर्तबन्दी गर्दैन

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताएका छन् ।
बिहीबार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताएका हुन् । बुधवार प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तनका लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकरण गर्ने उद्घोष गरेका थिए ।
प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताएका हुन् । उनले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हितमा सधैँभरी दृढतापूर्वक उभिने बताए । उनले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरूकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गरे । उनले आफूहरूकै नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताए ।
उनले भने ‘हिजो अस्ति भर्खरै कोशी प्रदेशको सन्दर्भलाई लिएर होला । एकजना मित्रले भन्नुभयो, नाम बिर्सिएँ मैले । म नाम अलिक बिर्सिन्छु । अर्को पटक ०८४ मा हामीलाई भोट हालेर जिताउनु भयो भने म यो कोशी प्रदेशको नाम नै फेरिदिन्छु भनेर उहाँले भनेको मैले कताकता पढेको जस्तो लाग्यो । झलझली अनुहार याद छ, नामचाहिँ मैले बिर्सेँ । हामी त्यसरी शर्तबन्दी गर्दैनौँ । नेकपा(एमाले) शर्तबन्दी गर्दैन । यो देशका विविध जाति, भाषा, धर्म, संस्कृतिका जनताका हितमा नेकपा९एमाले० जहिलेसुकै दृढतापूर्वक उभिएको छ । आउने दिनहरूमा पनि दृढतापूर्वक उभिन्छ । यसले आफ्नो व्यवहारबाट, काम, कारबाहीबाट यो कुरा स्थापित गरेको छ । धर्म निरपेक्षता कसको नेतृत्वमा घोषणा भयो रु आइएलओ महासन्धि कसको नेतृत्वमा नेपालले त्यसलाई अनुमोदन गर्यो रु आदिवासी जनजाति सम्बन्धी घोषणापत्रमा कसको भूमिका छ रु हाम्रो नेतृत्व, पहल र प्रयासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भयो । अब हामीले अरू धेरै भनिरहनु पर्छ र रु त्यसलाई कार्यान्वयन गर्न हामी लाग्यौँ ।’
उनले राज्यको तर्फबाट फूलपाती र शिवरात्रि पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरूलाई पनि राष्ट्रिय चाडपर्वको रूपमा मनाउनुपर्नेमा जोड दिए । उनले यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताए ।








