देउवा निवास घेर्नेभयो नेविसंघको असन्तुष्ट समूह

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन् ।
नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरूले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् ।








