अब विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १५ लाखसम्म दिने तयारी गरिँदै

वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता बढाउने तयारी गरेको छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राचलयले यसअघि दिँदै आएको ७ लाखलाई बढाएर १५ लाखसम्म पु¥याउने तयारी गरेको हो। कम्तिमा पनि १० लाख दिने तयारी भइरहेको मन्त्रालयले बुधबार पत्रकारसम्मेलन मार्फत जानकारी दिएको छ।
यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट पाउने छन्।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रूपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको बताए।
यस्तो सहायता २०६५ सालदेखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो। सुरूमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो। आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पुर्याइएको थियो।








