वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने

काठमाडौँ । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।
विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मङ्गलवारदेखि सर्भर अवरुद्ध रहेको छ । सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अवरुद्ध नै रहने विभागले बताएको हो । एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या भएको छ । तर यता वैदेशिक रोजगारी विभागका महानिर्देशक मदन दाहालले अवरुद्ध भएको अनलाइन सेवा खुल्न अझै तीन दिन लाग्ने बताए ।
उनले बुधवार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँगको छलफल कार्यक्रम बोल्दै सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा सुचारु हुन अझै तीन दिन लाग्न सक्ने बताएका हुन् । उनले वैदेशिक रोजगारी सम्बन्धी सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको बताए । उनले सरकार सर्भिस दिने काम धेरै अगाडि गए पनि सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए ।
उनले अनलाइन सेवा ७५३ स्थानीय तहमा पुगे पनि जडित प्रविधिलाई समयअनुकुल स्तरोन्नति गर्न नसकिएको बताए । उनले नयाँ नयाँ प्रविधि र सर्भिसहरू दिइरहेकाले त्यही अनुसारको प्रविधिलाई समयअनुकुल स्तरोन्नति गर्न नसकिएको बताए । उनले सर्भर स्तरोन्नति गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुटाएकाले चाँडै काम थालनी गर्ने बताए ।
उनले भने ‘वैदेशिक रोजगारी सम्बन्धी सेवा सहज बनाउने काममा बाधक सिस्टम छ । हामी सर्भिस दिने कुरामा धेरै अगाडि गयौँ । ७५३ स्थानीय तहमा पुग्यौँ । अनलाइन प्रणालीमा गयौँ । तर हाम्रो सर्भर २०६४ सालको छ । त्यसलाई उपग्रेड गर्नेतिर गएकै छैनौँ । अटोमेशनमा काम गर्ने सर्भर पुरानो छ । हामी नयाँ नयाँ प्रविधिहरू प्रयोग गरिरहेका छौँ । नयाँ सर्भिसहरू दिइरहेका छौँ । सर्भिस अनुसार सर्भर प्राविधिक रूपमा एडभान्स हुन सकिएको छैन । अहिलेको अटोमेसन तत्काल लागू हुँदैन । दुई दिनसम्म सर्भर बनाउने काम सकिएको छैन । शतप्रतिशत डेटा ट्रान्सफर भएपछि अलि सहज हुन्छ । विभागले सर्भर अपग्रेड गर्नको लागि वैदेशिक रोजगार बोर्डबाट १० करोड रुपैयाँ छुटाएका छौँ । सम्पूर्ण रूपमा सुधार हुन समय लाग्छ तर अहिलेको समस्या दुई तीन दिनमा समाधान हुन्छ ।’
त्यस्तै,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अनलाइन प्रविधिलाई स्तरोन्नति गर्ने लागिएको बताए । उनले स्थानीय तह, व्यक्तिगत, एजेन्सीहरूले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा सर्भरले धान्न नसक्दा समस्या आएको बताए । उनले सर्भरले १२ सय भन्दा बढीले एकै पटक प्रयोग गर्ने अपेक्षा नभएको बताए ।
उनले भने ‘वैदेशिक रोजगारीलाई सहजीकरण गर्ने भनेर स्थानीय तहलाई पनि जिम्मा लगाएका छौँ । त्यसले गर्दा सर्भरमा लोडहरू बढेको छ । अहिले प्राविधिक रूपमा अनलाइन एप्लिकेसनमा १२ सय प्रयोगकर्तालाई सर्भरले धान्ने रहेछ । व्यक्तिगत,स्थानीय तह, एजेन्सीहरूले पनि चलाउने हुँदा १२ सय भन्दा बढीले प्रयोग गर्दा हिट भएर सर्भर गएको छ । हामीले १२ सयले चलाउँछन् भन्ने अपेक्षा थिएन । सर्भरको क्षमता पनि बढाउने तयारीमा छौँ । केही दिनमा समस्या समाधान हुने प्राविधिकहरूले जानकारी दिएका छन् ।’
उनले अहिले अवरुद्ध भएको अनलाइन प्रणाली केही दिनमा नै समस्या समाधान भएर सुचारु गर्ने तयारीमा मन्त्रालय लागेको बताए ।








