३ महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : अग्नि सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले नेकपा (माओवादी केन्द्र) को भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकार बिच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन् । उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –विशेष रूपान्तरण अभियान’ सुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरूले समेत वडा जिम्मा लिने भन्दै सबै नेताहरू परीक्षामा सामेल हुने बताए । उनले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरू सामूहिक रूपमा उत्तीर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भने ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरू जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनः गठन, राजनीतिक पुनः गठन, सङ्गठनात्मक पुनः गठन र सांस्कृतिक पुनः गठनका कुरा गर्छौ । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तीर्ण हुन्छौँ । भदौको १५ गतेसम्म हामी तयारी गर्छौँ । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिब करिब अन्तिम परीक्षा जस्तै छ । हामीले साझा सङ्कल्प गरेका छौँ कि यो परीक्षामा हामी सामूहिक रूपमा उत्तीर्ण हुन्छौँ ।’
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालप्रतिवद्ध रहेको बताए । उनले ठिक ढङ्गले अनुसन्धान गर्नका लागि सिइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गरे । उनले अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पारे । तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उनले उल्लेख गरे ।
उनले भने ‘सुन प्रकरणलाई निष्कर्षमा पु¥याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । निर्दोष नपरुन् । दोषी नउम्किउन् भन्ने छ । कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सिइबिलाई दियो नि त । त्यो चाहिँ ठिक ढङ्गले अनुसन्धान होस् । काहीँ त्यहाँ मोलाहिजा हुँदैन । त्यो रोकिँदैन । यसलाई अगाडी बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा प्रतिबद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन । निर्धक्क साथ अघि बढ्छ । अगाडी बढाउनेमा पार्टीमा एकमत छ । तथ्य र प्रमाणले जो–जो, जहाँ–जहाँसम्म पुग्छ त्यहाँसम्म पुग्नका लागि कुनै हिचकिचाहट हुँदैन ।’
प्रवक्ता सापकोटाले जनता महँगीको मारमा परेको भएपनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताए । उनले बजार अनुगमन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले जनताले खेप्नु परेको महँगीको मारको सम्बन्धमा पार्टीको आगामी पदाधिकारी बैठकमा आफूले कुरा उठाउने पनि बताए ।
उनले भने ‘महँगीको मार परेको छ । सरकारको पहलकदमी पुगेको छैन । अनुगमन गर्ने, बदमासी गर्नेलाई कारबाही गर्ने कुरामा सरकारले दृढतापूर्वक कदम चाल्नुपर्छ । यसमा दुईमत छैन । महँगीको मारमा जनता परेका छन् । अब बस्ने पदाधिकारी बैठकमा यही भावका साथ हामी छलफल गर्छौ ।’
उनले देशका युवाहरू बिदेसिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरू नै बिदेसिएका बताए । उनले युवाहरू बिदेसिने खतराको विषय भएको भन्दै यो विषयलाई राष्ट्रले प्राथमिक एजेण्डा बनाउनुपर्ने बताए ।
उनले भने ‘युवा पलायन हुनेकुरा राष्ट्रियतासँग पनि गाँसिन थाल्यो । जो हुनेखाने छन् । पुगिसरी आएका छन् उनीहरू बिदेसिएका छन् । उनीहरूले यो राष्ट्रबाट सबभन्दा बढी उनीहरूले पाएका छन् । तैपनि उनीहरू विदेश गएर च्यालेन्ज गर्छन् । त्यसकारण यो विषय बहुआयामिक खतराको विषय बनेर आएको छ । यसलाई राष्ट्रको प्राथमिक एजेण्डा बनाउनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने अनि जनताको जीवनस्तर उठाउने अनि सामूहिक प्रगति गर्ने । यही त हो । ३ महिने अभियान पछि आशाको झिल्को देखिने गरी सरकारले पनि पहलकदमी लिइरहेको हुन्छ ।’
उनले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पुर्याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने उनले बताए ।








