विराटनगरका व्यवसायी भट्टराई सिरहाको होटलमा मृत भेटिए, घटना शंकास्पद !

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका ६ स्थित शम्भु होटलमा विराटनगरका एक व्यवसायी मृत फेला परेका छन् । विराटनगर उपमहानगरपालिका १० का २५ वर्षीय सिद्धान्त भट्टराई मृत फेला परेका हुन् ।

छतबाट लडेर मृत्यु भएको आशंका गरिएपनि घटना रहस्य देखिएको छ । मृतक भट्टराई विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा चालकसहित मिर्चैया आएका थिए । उनी कपी (अभ्यास पुस्तिका)को मार्केटिङ गर्दै आएको खुलेको छ ।

भट्टराईले गाडी चालक सागर राईसँगै बस्ने भनेर सहदेव होटलमा कोठा बुक गराएका थिए । कोठा बुक गरेर एक्लै हिँडेका उनी मध्यरातमा शम्भु होटलमा मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले उनको मृत्यु कसरी भएको विषयमा अहिले केही भन्न नसकिने बताए ‌। उनले भने, ‘छातीमा चोट लागेको देखिएको छ । थप अनुसन्धान भईरहेको छ ।’

उनका अनुसार सहदेव होटलमै खाजा र खाना खाएका भट्टराई शम्भु होटलमा कसरी गए भन्ने छानबिनको विषय रहेको बताए । चालकसँग सोधपुछपछि धेरै कुरा खुल्न सक्छ ।

शम्भु होटलका सञ्चालक शम्भु साहले भट्टराई राति करिब ११ बजे आफ्नो होटलमा आएको बताए । उनले भनेका छन्, ‘भट्टराई बियर मागेर पिएको र केहीवेरमा शौचालय कता छ ? भन्दै सोधेपछि  मैले शौचालय देखाई दिए । त्यसपछि के भयो थाहा भएन ।’

शव अहिले घटनास्थलमै रहेको छ । मृतकका आफन्त आएपछि शव पोस्टमार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *