दुवै सदनको बैठक आज, चल्ने/नचल्ने एमालेमा निर्भर

काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराउने छन् ।
बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।
शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभाको बैठक पनि संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ । विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
संसद् चल्ने/नचल्ने एमालेमा निर्भर
यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण दुवै सदन स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना न्यून रहेको छ । एमालेले छानविन समितिको माग गरिरहँदा सरकारले भने यसको आवश्यकता नभएको जनाइसकेको छ ।








