प्रचण्डलाई जनार्दन शर्माको प्रश्न : मैले कहाँ सहयोग गरिनँ ?

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सधैं सहयोग गरेको बताएका छन्।
तर उनले आफूले असहयोग गरेको जस्तो भ्रम छरिएको भन्दै बैठकमा गुनासो गरे।
काठमाडौँमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डलाई आफूले सहयोग गरेको तर गलत प्रचार गरेको उनले गुनासो गरे।
‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैँले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु,’ शर्माले केन्द्रीय समिति बैठकमा भने।
परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएको उनले बताए।
‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ। अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्यो होला’, शर्माले नेतृत्वप्रति गुनासो गरे।
आफू सधैँ अध्यक्षकै रहेको तर २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारेकोमा शर्माले असन्तुष्टि व्यक्त गरे ।
अध्यक्षले गरेको त्यही प्रस्ताव पनि सहज रूपमा स्वीकार गर्दा अनेकन् प्रचारबाजी गरिएको भन्दै असन्तुष्टि पोखे।








