ओलीलाई विश्वप्रकाशको चेतावनी- सँगै बसेर ‘टेबल टक’ गर्न तयार छु, इतिहास बङ्ग्याएर भ्रम छर्ने काम नगर्नू

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् ।
बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो ।
नेकपा एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘गणेशमान जी ५० वर्ष काँग्रसमा रहनु भयो, पहिला पनि काँग्रेस हुनुहुन्न्थ्यो, पछि पनि काँग्रेस छोडेर अलग हुनुभयो । गणेशमान जी सधैँ काँग्रेससँग काँग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्कोथोक । त्यो खालको देखेर उहाँ सधैँ संघर्षरत हुनुहुन्थ्यो । नेपाली काँग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ । संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनु भयो । तर त्यसलाई के भन्नुभयो भने एकदिन बिहान सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ । त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ । भन्ने व्याख्या गरेर बिपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसका विरुद्ध भन्दा वामपन्थी परिवर्तनकारी देशभक्ति शक्तिहरुका विरुद्ध । उहाँका त्यस बेलाका वक्तव्य हेरे हुन्छ । बोल्न नसक्नु बेग्लै कुरा हो, कसैले बोल्न सक्दैन बेग्लै कुरा तर नीति त्यही हो, वक्तव्यले त्यही कुरा भन्छ ।’
सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन् । उनले अध्यक्ष ओलीले बिपी कोइरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए । उनले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए । महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताए । बिपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो भन्दै प्रश्न गरे । उनले बिपी कोईरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढीरहेको दाबी गरे । उनले बिपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने तर बिपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको बताए । इतिहासलाई बंग्याउने भन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी रहेको बताउनु भयो । महामन्त्री शर्माले इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन नसकिने बताए ।
उनले भने, ‘एमाले पार्टी अध्यक्ष, यो देशका पूर्व प्रधानमन्त्री सम्माननीय कमरेड केपी ओलीले तुल्सीलाल अमात्यको स्मृति दिवसको दिन बोल्दै गर्दा बिपी कोइरालाको बारेमा, बिपी कोइरालाले २०३३ सालमा लिनुभएको मेलमिलापको नीतिको बारेमा जे बोल्नुभयो, वास्तवमा त्यो कुनै प्रतिक्रिया योग्य, टिप्पणी योग्य नै छैन । बिहानै घरबाट हिँड्ने बेलामा आदरणीय राधिका भाउजूसँग ठाकठुक परेर हिँड्नुहुन्छ की बेला बेला, शालीन व्यक्तित्व हुनुहुन्छ उहाँ, राधिका शाक्य । त्यस्तो त पक्कै हुँदैन होला । खगेन्द्र संग्रौलाले कसैको प्रशंसा गरेर लेख्नुभयो, अनि कमरेड केपी ओलीले आफ्नो समग्र मन्तव्य भित्र कसैका बारेमा तिक्तता व्यक्त नगरी टुङ्ग्याउनुभयो भने नेपाली समाजले अनौठो मान्नुपर्ने अवस्था बनिसकेको छ । जीवित व्यक्तिको बारेमा तीतो टिप्पणी गर्दा जवाफ दिनका लागि उहाँहरू नै हुनुहुन्छ । सुरुमा सँगै एउटै पार्टी बनाउनु भयो, कमरेड प्रचण्डसमेतसँग । माधव नेपालहरू र प्रचण्ड छुट्टिएपछि फर्सीको कुहिएको भेट्ना झरेर गए भनेर बोलिदिनु भयो । दुई वटा नट बोल्ट नै खुस्केपछि गाडी राम्रोसँग कुद्यो भन्न थाल्नु भयो । एउटा सभामा कसैको मृत्यु भएको भए श्रद्धाञ्जली भन्नु हुन्थ्यो पनि भन्नुभयो । यो सुसंस्कृत प्रस्तुति सम्माननीय केपी कमरेडबाट भइरहेको छैन । बिपी कोइरालाले संघर्ष गर्न नसकेर ३३ सालको मेलमिलापको नीति लिनुभएको हो । बिपी कोइरालाको बारेमा यो बुझाइ नेकपा एमालेको संस्थागत बुझाई हो ? म सार्वजनिक रूपमा प्रश्न सोध्न चाहन्छु । बिपी कोइरालाले संघर्ष देशमा भित्र्याएको होइन र ? यो देशमा राणासँग लड्न बन्दुक नै बोकेर काँधमा उभिएर जानुपर्छ भनेर बिपीकै प्रेरणा र विचारको नेतृत्वमा २००७ सालको क्रान्ति भएको होइन र ? बिपी कोइरालालाई संघर्ष अब अहिले आएर सिकाउने हो ? बिपी कोइराला संघर्ष, सिद्धान्त, संयम, समुन्नतिको मार्गचित्र स्पष्ट बोकेको राजनेता हुनुहुन्थ्यो । आजको समयमा बिपी कोइरालालाई बुझ्नलाई मदन भण्डारीको आँखाबाट पढेपनि पुग्छ । के मदन भण्डारी गलत हुनुहुन्थ्यो । जसले जनताको बहुदलीय जनवाद नाम गरेको विचार दर्शन लेख्दै गर्दा २०४९ सालको महाधिवेशनमा पेस गर्नुभन्दा अलि अघि दिनुभएको अन्तरवार्तामा भन्नुभएको थियो, मन पर्ने खाजा मम हो, मन पर्ने नेता बिपी कोइराला हो । मदन भण्डारीले बिपी कोइरालालाई आत्मसमर्पणवादी मान्नुभएको हो ? त्यो बेलाको शक्ति सन्तुलन, बंगलादेश पूर्वी पाकिस्तानबाट टुक्रिएको बेला, सिक्कीममा भारतमा विलय भएको बेला, लोकतन्त्रका लागि घरभित्रै बसेर संघर्ष गरौँ, एक ठाउँमा उभिऔँ भनेर बिपी कोइरालाले भन्नु गलत हो ? बिपी कोइरालाले पञ्चायतमा प्रवेश गर्नुभएको हो र ? संघर्ष गर्न नसकेर । बिपी कोइराला २०३३ सालमा नेपाल भित्रिसकेपछि २०३६ सालको जनमत संग्रहको लागि एउटा वातावरण बनेको होइन र ? ०३६ सालको जनमत संग्रहलाई धोका हो भन्दै गरेका दलहरू अहिले पनि अस्तित्वमा हामीकहाँ छैनन् र ? कमरेड केपी ओलीकै दलले त्यो बेलामा बहिष्कार गरौँ भनेका होइनन् र ? यो ढंगले बिपीको नीतिलाई आत्मसमर्पण गरेको भन्ने सन्दर्भमा जाँदै गर्दा बिपी कोइराला हुनुहुन्न होला, तर बिपी कोइरालाको विचार बोक्ने मानिसहरू जिउँदै छन्, बिपीले भनेको त्यही विचारको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई पनि रूपान्तरण गर्नतर्फ कमरेड मदन भण्डारी लाग्नुभयो । मदन भण्डारीलाई श्रद्धा गर्ने मान्छे मध्ये हुँ म । अब कस्तो समाज बनाउन चाहन्छौ कमरेड केपी ओलीलाई म सार्वजनिक रूपमा सोध्न चाहन्छु । अब बिपी कोइरालालाई, पुष्पलाल, मनमोहन, गणेशमान सिंह,गिरिजाप्रसाद कोइरालालाई, सुशील कोइराला, मदन भण्डारीलाई, कृष्णप्रसाद भट्टराईलाई गाली गरेर उहाँहरूलाई गलत हो भन्ने व्याख्या गरेर, उहाँहरूले छोडेर गएका उपलब्धिलाई आशंकाको घेरामा पार्ने ? आज सम्माननीय पूर्व प्रधानमन्त्री केपी ओलीले जे बोल्नुभएको छ, यो अभिव्यक्तिप्रति मेरो सिंगो असहमति छ, सिंगो काँग्रेस पार्टीकै तर्फबाट म उहाँले यो प्रकारको राख्नुभएको अभिव्यक्ति सार्वजनिक रूपमा नगर्नका लागि म विनम्र अनुरोध गर्दछु । बिपी कोइरालाले परिकल्पना गर्नुभएको संसदीय लोकतान्त्रिक परिपाटीमा नेपालको कम्युनिष्ट आन्दोलन चलिरहेको छ । झापामा मुभमेण्ट गर्दैगर्दा बल प्रयोगबाट राज्य सत्ता लिने भनेर गरेको होइन ? पछि मात्रै आएर संसदीय प्रणालीमा आबद्ध हुनतर्फ विचार अंगीकार गर्न लागेको होइन ? अनि बिपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रूपान्तरण गर्दै लिएर आउने अनि बिपीमाथि औंला उठाउने यो प्रकारको व्यवहार गलत छ । बिपी कोइरालाको सबैकुरा राम्रैराम्रो थियो भनेर नभनौँला । तर बिपीको साहित्यलाई पनि कुण्ठा कुण्ठा थियो भन्दिने । बिपी र पुष्पलालको आफ्नै दृष्टिकोण छ । इतिहासकाप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिऊँ । इतिहासबाट सही ढंगले अभिप्रेरित होऔँ । त्यसलाई वस्तुगत रूपमा समीक्षा गरौँ । बिपीको मेलमिलाप सही छ, आवश्यक अहिले पनि छ भनेर व्याख्या गर्नुपरे पनि सँगै कुनै टेबलमा बसेर गरौँला । इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन सकिँदैन ।’
महामन्त्री शर्माले बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ भन्ने विषयमा आफू टेबल टक गर्न तयार रहेको बताए ।








