प्रधानमन्त्रीको सरकारी निवासअगाडि डोजर तेर्स्याएर ठेकेदारले गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माण यन्त्रहरू तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए । नेपाल सरकारले बनाएका योजनाहरू ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भएपनि श्रोत नभएको योजनाहरूको म्याद थप गर्न लागेको उनको भनाई छ ।
उनले सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भनेपनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल प्रचण्डले निर्माण व्यवसायीहरूलाई काममा फर्काउनको लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने बताए । सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ ।
व्यवसायीले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुन सुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, व्यवहारिक माइल स्टेन खारेज गर, गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता, उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाइका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दाबाद लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।









