सुन प्रकरणमा ममाथि लागेको आरोपबारे छानबिनका लागि तयार छु : वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढङ्गले छानबिन हुनुपर्ने बताएका छन् ।
सोमवार संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पुनले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका हुन् । पुनले प्रधानमन्त्रीले भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान रहेको बताए । उनले अनाहकमा आफूलाई जोडेको भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।
पुनले भने ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको भ्रष्टाचार र सुन तस्करी विरुद्ध चलाएको अभियान नेपाली राजनीतिलाई शुद्ध बनाउन चालिएको अभियान हो । यसमा मेरो पूरै समर्थन छ । मेरो कहीँ कतै संलग्नता छैन । म कतै जोडिएको छैन । गत आठ वर्ष पहिले पारिवारिक खालको फोटोलाई राखेर हो जस्तो पारिएको छ । आगामी दिनमा हामी कस्ता मान्छेसँग छानबिन गर्ने कस्ता मान्छेसँग नगर्ने भनेर सोच्नुपर्छ । मेरोबारेमा पनि ठोस रूपले त उठेको छैन, कुन निकायले छानबिन गर्नुपर्ने हो म माथि छानबिन गरोस्, म त्यो छानबिनका लागि तयार छु । र, म दोषी ठहरिए के सजाय भोग्नुपर्ने हो त्यसको लागि तयार छु । राजनीतिक, व्यक्तिगत चरित्र हत्या गर्ने भन्दापनि तथ्यमा पुगेर अनुसन्धान गर्नुपर्छ । न्यायिक समिति, संसदीय छानबिन समिति वा प्रहरी कसबाट अनुसन्धान हुनुपर्ने हो म उभिन तयार छु ।’
राज्यका निकायहरूले पूर्वाग्रही गर्न नहुने र राज्यले न्यायोचित ढङ्गले छानबिन गर्नुपर्ने बताए ।








