चलचित्र विकास बोर्डमा अध्यक्ष भुवन केसीको एक वर्ष पूरा

काठमाडौँ । गत वर्ष २०७९ साउन ११ गते चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदभार ग्रहण गरेका भुवन केसीले सफल एक वर्ष कार्यकाल पुरा गरेका छन् । दुई वर्षको लागि पदभार ग्रहण गरेसँगै आएका विभिन्न उतारचढावहरूलाई पन्छाउँदै केसीले सुखद एक वर्ष पूरा गरेका हुन् ।

अध्यक्ष केसीले आफ्नो एक वर्ष बोर्डको इतिहासमा सुनौलो वर्ष रहेको प्रतिक्रिया दिएका छन् । उनले लामो समयदेखि जड बनेर बसेका विभिन्न समस्याहरूको पहिचान देखि निर्णय हुन नसकेर थन्किएका थुप्रै योजनाका फाइलहरू खुलेको र कतिपय सरकारबाट निर्णय समेत गराउन सफल रहेको बताए । ‘बोर्डको अध्यक्षको हैसियतमा बसेपछि गत एक वर्षमा चलचित्र क्षेत्रको बारेमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर प्राप्त गरेको छु । नेपाली चलचित्रको लागि गर्नुपर्ने के रहेछ भन्ने कुराको यकिन भइसकेको छ । बाँकी एक वर्षमा मैले नेपाली चलचित्रको उत्थान र प्रवर्द्धन हुने थुप्रै कामहरू गर्ने योजनामा छु’ केसीले बताए ।

साथै, अध्यक्ष केसीले अहिले मन्त्रिपरिषद् र तालुक मन्त्रालयबाट अत्यन्तै गहन सहकार्य प्राप्त गरेको बताए । केसीले भने ‘मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री र नेपाल सरकारबाट अत्यन्तै सौहार्दपूर्ण सहयोग प्राप्त भईरहेको छ । लामो समयदेखि अड्किएर रहेका फाइलहरूलाई पुनः खुला गरी निर्णय हुनबाट वञ्चित नेपाली चलचित्रका हितमा हुने निर्णयहरू पनि भइरहेका छन् । मैले वर्तमान मन्त्रिपरिषद्‍बाट नै मस्यौदा तयार भएको राष्ट्रिय चलचित्र नीति २०७१ को समयसापेक्ष परिमार्जन राष्ट्रिय चलचित्र नीति¸ २०८० को पारित हुनेमा विश्वस्त छु । साथै, चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भई मन्त्रालय पेस भएको छ । यसको पनि निर्णय मेरै कार्यकालमा आउनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *