सुन तस्करीबारे उच्चस्तरीय छानविन समिति बनाउन संसदीय समितिको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार सिंहदरबारमा बसेको संसदीय समितिले सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । समितिको बैठकपछि समिति सचिव एकराम गिरीले विमानस्थलबाट गैरकानूनी रूपमा भित्रिएको सुन प्रकरणमाथि स्वतन्त्र, निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए । समितिका ज्येष्ठ सदस्य अर्जुननर सिंह केसीको अध्यक्षतामा बसेको बैठकमा सांसद्हरुले सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए ।

समिति सचिव गिरीले भने ‘लेखा समितिको आजको बैठकमा समितिको आन्तरिक कार्यविधि र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानूनी रूपमा भित्रिएको सुन प्रकरणका साथसाथै तराई क्षेत्रमा पानी नपरेर भएको सुक्खा छ । सुक्खाको कारणले धानबालीमा असर परेको र खानेपानीको चरम अभाव भएको भन्ने विषयवस्तु लगायतका विषयमा छलफल भयो । समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भयो । हालसालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानूनी रूपमा भित्रिएको सुन प्रकरणमाथि स्वतन्त्र निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न एक उच्चस्तरीय छानबिन समिति गठन गर्न गराउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गर्यो । त्यसै गरेर तराई क्षेत्रमा भएको न्यून वर्षाका कारण जुन पानीको अभावमा धान रोपाइँ हुन सकेको छैन । सो सन्दर्भमा सिँचाइका वैकल्पिक व्यवस्थापन गर्न र खानेपानीको चरम अभाव देखिएको छ । खास गरी तराईका आठ जिल्लाहरूमा ती जिल्लाहरूमा खानेपानीलाई तत्कालै खानेपानीको व्यवस्था गर्न अल्पकालीन र दीर्घकालीन कार्य योजनासहित समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

समिति बनेको तीन महिना बितिसक्दा पनि समितिले नेतृत्व नपाएको भन्दै उठेका सांसदहरूको आवाजमा समितिको ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + sixteen =