वातावरणीय प्रभाव र जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन् ।
आइतबार खानेपानी मन्त्रालयले खानेपानीको वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावरणीय प्रभावले पानीका मुहानहरू सुक्ने भएकाले प्राप्त खानेपानी वितरणमा चुनौती थपिएको बताए । उनले खानेपानीमा थपिएको समस्या दीर्घकालीन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गरे ।
मन्त्री यादवले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मूलहरू सुक्दै जाने समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उपायको खोजीमा सरकार लागेको बताए । उनले खानेपानी,वन ,भौतिक र सिँचाइ मन्त्रालय सहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताए । उनले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरूबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिरहेको बताए । उनले तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘खानेपानीलाई संविधानले मौलिक हकका रूपमा दिएको अधिकार हो । तर अहिले देशमा र विश्वव्यापी रूपमा वातावरणीय र जलवायु प्रदूषणको कारणले नेपाल पानीको धनी देश भएता पनि खानेपानीमा जटिलताहरू देखिन थालेका छन् । यो जटिलताहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने सोच्न सकेनौँ भने अहिलेकै अवस्थामा समस्या हल गर्न सक्दैनौँ । तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मूलहरू सुक्दै जाने समस्या दीर्घकालीन रूपमा कसरी साधन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले गम्भीरताका साथ चासो राखेको छ । यसलाई खानेपानी,वन ,भौतिक र सिँचाइ मन्त्रालयको समिति बनाउँछौँ । राष्ट्रिय समस्या भएको कारण राष्ट्रिय एउटा कमिटी बनाएर पहिचान गर्ने र यसको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य उद्देश्य रहेको छ । बहुवर्षिय योजना बनाएर ठूला खोलाहरूबाट पानी वितरण प्रणालीमा ल्याउन अहिले विभिन्न क्षेत्रबाट अनुसन्धान भइरहेको छ । तत्काल पानीको मूललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा दुई क्षेत्रको अवस्था छ । त्यहाँ सरकारले अहिले नै ध्यान दिन सकेनौँ भने पानीको खर्च व्यवस्थित बनाउनु पर्छ । आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परा छ । सुकेको मूललाई तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरू बनाएर पानीलाई रिचार्ज गर्नु महत्वपूर्ण छ । त्यस्तो भए मात्रै नियन्त्रण गर्न सकिन्छ । तराई मधेसमा पानीको सतह कम हुनु भनेको चुरेको विनाश हो ।’
उनले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितरणलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले सुकेको मूललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरू बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताए । उनले चुरेको विनाशका कारण तराई मधेसमा पानीको सतह कम हुँदै गएको बताए ।








