मलाई बाटोमा तस्करहरूले गोली हान्न सक्छन् : डा. सुनिल शर्मा (भिडिओ कुराकानी)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले आफूलाई ज्यानको खतरा रहेको बताएका छन् । मकालुखबरसँगको विशेष कुराकानीमा सांसद शर्माले आफूलाई तस्करहरूले गोली हान्न सक्ने बताएका हुन् ।

उनले जनता र सुशासनको पक्षमा आवाज उठाउँदा शीर्ष नेताहरूका डिजाइनमा आफूलाई सिद्धाउन खोजिएको बताए । ‘मलाई सिआईबी लगाएर, अनेक फाइल खडा गरेर कसरी यसलाई घेराबन्दी गरेर पक्राउन सकिन्छ भनेर लागिरहेका छन् । सुन तस्करीभन्दा अगाडि अर्थमन्त्री डा. प्रकाशशरण महतले यो माग किन नगरेको ? तर मलाई यी चिजले कुनै फरक पर्नेवाला छैन,’ सांसद डा. शर्माले भने, ‘म सबै कुरा भोग्न बेहोर्न तयार भएको मान्छे हुँ । मलाई बाटामा हिँड्दाखेरी गोली पनि हान्न सक्छन्, म कहीँ मारिन पनि सक्छु भन्ने कुरा थाहा पाएर मेरो घरपरिवारलाई काउन्सिलिङ गरेर बसेको छु । तिमिहरू नआत्तिनू, चिन्ता नगर्नू मृत्यु अगाडि र पछाडिको मात्र कुरा हो । भनेपनि म मृत्युवरण गर्न तयार छु तर नेपाली जनताको पक्षमा आवाज उठाउनु भनेर हिँडेको छु ।’

मेडिकल व्यवसायीसमेत रहेका सांसद डा. शर्माले सरकारले अवैध सुन भित्र्याउने नाइकेलाई अविलम्ब पक्राउ नगरे आमरण अनशन बस्ने अडान यथावत् रहेको बताए । गैरकानुनी रूपमा सुन भित्रिएको प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता हुनसक्ने आधार रहेकाले अनुसन्धान हुँदासम्म पदबाट राजीनामा दिनुपर्ने तर्क गरे । ‘पोल खुल्ने डरलाई भन्सार प्रमुखलाई संरक्षण (सरुवा) गरियो । काम गर्ने सुब्बा तहको कर्मचारीलाई पक्रिनुले यो स्पष्ट हुन्छ । यो विषय विषयान्तर गर्न खोजिँदै छ, गुपचुप पार्न खोजिँदै छ,’ उनले भने, ‘त्यसकारण हाम्रो माग भने हो भने उहाँहरू (दुईजना मन्त्री)ले क्लिनचिट नपाउँदासम्मको लागि राजीनामा दिनुपर्छ । र निरन्तर हामी मागी रहन्छौँ, जबसम्म लागू हुँदैन ।

सुन प्रकरणमा प्रतिपक्ष पनि रक्षात्मक हुनु नौला कुरा नभएको उनको भनाई छ । यसका कुनै पनि दलका नेता अछुतो नरहने भएकाले मिलेमतोमा गुपचुप गर्न खोजिएको सांसद शर्माले बताए । ‘प्रतिपक्षको रोल पनि हेरिहाल्नुभयो । प्रतिपक्षले हुर्रा र मुर्रामा सदन अवरुद्ध गर्ने अनि यहाँलाई यत्रो स्क्यान्डल घटेको छ मन्त्रीहरूको राजीनामा नमाग्ने, यहाँ त समिति बनाउ भन्नभयो उहाँहरूले । समिति बनाउ भनेको त विषयलाई विषयान्तर गरेको हो,’ उनले भने, ‘यो भनेको त सुनको पैसा हाम्रा नेताहरूकहाँ पनि आइपुग्छ, त्यसकारण यहाँ बोल्यो भने पोल खुल्नसक्छ । मान्छे पक्राउ पर्नसक्छन् त्यहाँबाट हामी जोडिन सक्छ । त्यसकारण समिति बनाइदियो भने अनुसन्धानका नाममा अपराधीहरूलाई लुकाएर सेभ भो नि त । यसमा पनि मेरो घोर आपत्ति छ । समिति बनाउने भएपनि यी दुइटा संरक्षकहरू (गृह र अर्थमन्त्री)लाई राजीनामा गराएर बाटो खुल्ला गर्नुपर्छ ।’

उनले अर्थमन्त्री र गभर्नर बैंकबाट महिनावारी पैसा बुझ्ने गरेको आरोप पनि गाए । ‘अहिलेको अर्थमन्त्री र गभर्नर बैंकसँग महिनावारी पैसा खान्छन् । बैंकसँग महिनावारी ठूलो पैसा खाएर यिनले चाहिँ बैंकको संरक्षक भएर बसेका छन् । यो अर्को मिटरब्याज होइन ?’ सांसद डा. शर्माले भने ।

प्रतिक्रिया

One thought on “मलाई बाटोमा तस्करहरूले गोली हान्न सक्छन् : डा. सुनिल शर्मा (भिडिओ कुराकानी)

  1. यो पागल कसरी डा लेख्ने भएछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *