स्वास्थ्यमन्त्री बस्नेत भन्छन्- समाजसेवामा फाइदा लिने मानिसबाट काम हुँदैन

मन्त्री बस्नेत भन्छन् समाजसेवामा फाइदा लिने मानिसबाट काम हुँदैन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा ५८ औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताए । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्त्वपूर्ण रहेको बताए । उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्त्वपूर्ण हुने बताए । देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनको भनाई छ ।
स्वास्थ्यमन्त्री बस्नेत भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरूबाट काम छैन । जनसेवा गर्ने संकल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्त्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर हिँडेको मान्छे हुँ म ।’
मन्त्री बस्नेतले कामहरू जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रूपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको उनको भनाई छ ।








