कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश : रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीमा नेतृत्व परिवर्तनको कुरा स्वाभाविक प्रक्रिया रहेको बताए । उनले केन्द्रीय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधवार सार्वजनिक हुने बताए । उनले बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताए ।
उनले भने ‘बैठक राम्रोसँग सञ्चालन भएको छ । मूलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनको बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो । साथै पार्टीको जीवन भन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढङ्गबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ । कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वाभाविक हुन् र यी हुन्छन् ।’
प्रमुख सचेतक लेखकले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नु राम्रो भएको बताए ।








