राजनीतिक तहमै हुने भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधारौँ : उपेन्द्र यादव

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाई थियो । सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताए ।

अध्यक्ष यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरूको भन्दा महँगो निर्वाचन प्रणाली हुनु दुखद कुरा भएको बताए । उनले भने ‘नेपाल जस्तो अल्पविकसित देशमा विकसित पुँजीवादी देशहरूभन्दा महँगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । सुधार्नु यहाँ जरुरी छ । राजनीतिक दलहरू चुनाव लडदाखेरी वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त । होइन र ? यो निर्वाचन प्रणालीलाई बदलौँ । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र खर्चिलो भयो । त्यसकारणले निर्वाचन प्रणाली र हाम्रो जस्तो अल्प विकसित मुलुकमा परिश्रम गर्दाखेरी उसले प्राप्त गर्ने जो ज्याला, मजदुरी वा तलब छ । त्यसले ऊ आफूलाई धान्न सक्दैन । के गरोस् त ? त्यहाँ पनि छ । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत भएको छ । समाजवादका लागि एउटा यो ठूलो बाँधा रहेको छ ।’

अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिष्ट पार्टीका नेताहरू नै नवधनाढ्य वर्गमा परिणत भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =