सूचना दिनेलाई पुरस्कारको व्यवस्था भएकाले सुन समातियो : अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् । सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् ।
उनले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको बताए । ‘हिजोमात्रै मौद्रिक नीति सार्वजनिक भएको छ, मैले पटक पटक मौद्रिक नीति घोषणा गर्दा ब्याजदरमा खुकुलो पन ल्याउनुपर्छ भन्दै आएको थिएँ । त्यही खुकुलो आएको छ । अरू पनि केही पहलहरू भएका छन् । त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर कम भएर जान्छ,’ उनले भने, ‘लगानीको वातावरण सहज बनाउँछ । वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने । जस्तो अहिले मूल्यवृद्धि समग्रमा घटेको छ । कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ । विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा हामी अघि बढेका छौँ । त्यही अनुसार सरकार र काँग्रेस पार्टी पनि बलियो बनाउने, एकताबद्ध भएर अघि बढ्ने, बाहिर एउटा, भित्र एउटा नभई एउटै कुरामा जोड दिने हो । हामी व्यक्तिका नभई पार्टीका कुरा गर्ने हो, पार्टीले देशका र जनताका कुरा गर्ने हो ।’
अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरेका छन् । ‘जसलाई जे मन लाग्यो त्यो भन्न पाउने, त्यहाँमाथि सामाजिक सञ्जालमा भाइरल भइहाल्छ । मैले बजेटमा नै प्रस्ताव गरेको हो की यो भन्सारमा कतिपय कुराहरूलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ उनले अगाडि भने, ‘कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग अनियमितता, गैरकानूनी काम गर्न नदिन कटिबद्ध छ । त्यही अनुसार काम भइरहेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।’
पार्टी केन्द्रीय समितिको बैठक लाइभ गरेसँगै भ्रम छर्नसक्ने गुञ्जायस नरहेको जिकिर गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय भई लाइभ चलिरहेको भन्दै अहिले राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाई छ ।








