मन्त्री ज्वालाको भाषण- स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् । आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए । उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए । उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए । यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरु छन् । हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ । यसको लागि छलफल पनि गरेका छौँ । मुख्य रूपमा हामी लाइसेन्समा नै केन्द्रित छौँ, यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरेका छौँ । त्यो लागू गर्नेछौँ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ ।’

उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको सुरुवात हुनु महत्त्वपूर्ण रहेको बताए । उनले चालक, सहचालकहरूले राम्रो व्यवहार र बोलीले नै यात्रुहरू खुसी हुने बताए । उनले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताए । ‘सरकारको महत्त्वपूर्ण आयोजनाको रूपमा अघि बढेको यो कार्यक्रम सफल बनाउनुपर्छ । यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा हामीले पहल गरिरहेका छौँ, यसका लागि हामी सबै मिलेर अघि बढ्नुपर्छ,’ ‘एउटा महत्त्वपूर्ण अभियानको सुरुवात गरेका छौँ, सार्वजनिक यातायात भनेको जनताका यातायात हुन् । आम जनताले उपभोग गर्ने सवारी साधनहरू सफा हुनुपर्छ, चालक, सहचालक, कर्मचारीहरूले ड्रेल लगाउने कुरा, परिचयको निम्ति पनि राम्रो हुन्छ, परिचय पत्र लगाउने कुरा हामीले अभियानको रूपमा अघि बढाएको छौँ । यो महत्त्वपूर्ण छ ।’

मन्त्री ज्वालाले चालक, सहचालकहरूको बोलीका कारण पनि कतिपय यात्रुहरूले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । ‘सार्वजनिक यातायातमा सरसफाइको अभियान पनि हामीले सुरु गरेका छौँ । अनुशासन पनि मुख्य कुरा हो । बोली व्यवहार राम्रो हुनुपर्छ । सबैभन्दा धेरै मानिससँग सम्पर्कमा रहने व्यक्ति सबैभन्दा धेरै अनुशासनमा हुनुपर्छ । यात्रुमैत्री व्यवहार, बोली हुनुपर्छ । चालक, सहचालकहरूको बोलीका कारण पनि कति साथीहरूले नराम्रो झमेला व्यहोर्नुभएको छ । यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =