सुन तस्करीमा पूर्वसभामुखको नाम गलत मनसायले जोडियो : सञ्चार मन्त्री शर्मा

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताएकी छन् । शुक्रबार जनकपुर पुगेकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारविरुद्ध दृढतापूर्वक उभिएको बताएकी हुन् ।
सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताइन् । उनले सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताउँदै मूलकमा मसान्तवादको अवशेषको रूपमा रहेका मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानून अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको बताइन् । शर्माले केही असन्तुष्टिहरू भएपनि त्यसलाई बिस्तारै समाधान गरेर जाने बताइन् । कानून बिस्तारे संशोधन गर्दै जाने भएको कारणले मिटरब्याज सम्बन्धी कानूनमा देखिएको समस्यालाई संशोधनमार्फत हल गर्ने मन्त्री शर्माको भनाई छ ।
मन्त्री शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको तर्क गरिन् । उनले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताइन् । नागरिकता समस्या समाधान गरेको भन्दै उनले छिट्टै नागरिकता सम्बन्धी नियमावली निर्माण गर्ने दाबी गरिन् ।








