कांग्रेस प्रदेश सभापतिहरुले भने– जिम्मेवारी नदिनुभन्दा प्रदेश समिति खारेज गरिदिऊँ

काठमाडौँ । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका हुन् । उनले यस विषयमा पुनःविचार गर्नुपर्ने बताए । प्रदेश समितिलाई जिम्मेवारीबिहीन बनाइएको भन्दै प्रदेशलाई बाइपास नगर्न आग्रह गरे ।

उनले भने, ‘मधेस भनेको नेपाली काँग्रेसको जननी हो । मधेसबाट नेपाली काँग्रेसको जन्म भएको छ । र मधेस बलियो जब जब भएको छ, तब तब नेपाली काँग्रेस सत्तामा गएको छ । यो हामीले बिर्सनुपर्ने कुरा होइन । यो प्रदेश संरचना किन गठन गरियो ? सातवटा प्रदेशमा संरचना किन बनाइयो ? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीबिहिन बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ । हामी जिल्लैमा बस्न तयार छौँ । जिल्लाकै संगठन गर्छौं । जे कार्यक्रम भएको छ डाइरेक्ट जिल्लालाई । प्रदेशलाई बाइपास गरेको छ । अनलाइनबाट गर्‍यो भने कांग्रेसलाई सिध्याउने सब पार्टीको खेल छ । कांग्रेसलाई आघात पर्छ भन्ने मलाई डर लागेको छ । यसमा सचेत भएर हामी प्रक्रिया मिलाएर अगाडी बढ्नुपर्छ ।’

लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले केन्द्रीय नेताहरुले प्रदेशलाई कमजोर बनाउन लागेको बताए ।

बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताए । उनले सरकार र पार्टीका बिचमा आपसी सहकार्य हुनुपर्नेमा जोड दिए । उनले नेपालको निर्वाचन प्रणालीदेखि नेपाली कांग्रेसले बोकिरहेको एजेण्डाबा विषयमा सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘आज नयाँ पार्टीहरुले संघीयता र भ्रष्टाचारको मुद्दा उठाएर नयाँ पार्टीहरु मुलुकमा स्थापित भएको छन् । त्यतातिर हामीले ध्यान दिनुपर्ने हो कि ? मुलुकको निर्वाचन प्रणालीले अस्थिरता बढायो कि ? निर्वाचन प्रणालीले स्थायित्व र गणतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धितिर कमजोरी भयो कि ? अबको एजेण्डा कांग्रेसले भोलि त्यो बाटोमा जानुपर्ने हो कि ? सरकार र पार्टीको बीचमा समन्वय नभएर पनि पार्टीका साथीहरुका बीचमा निराशा आएको हो कि ? पार्टी र सरकार तल्लो तहदेखि माथिसम्म संवाद र सम्पर्क एकअर्कामा एकता र सहकार्य हामीभित्र काहीँ कमजोरी भएको हो कि ? त्यसकारणले पार्टी र सरकार बीचको तलदेखि माथिसम्म पार्टीलाई परिचालित गर्दै जनप्रतिनिधिसँग सम्वाद चलाउने कुरा केन्द्रले गर्नुपर्ने हो कि ?’

उनले नेपाली कांग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *