ग्लोबल टी–२० क्रिकेट खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान

नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछाने क्यानडा प्रस्थान गरेका छन्।
ग्लोबल टी २० का लागि सरे जगुआरमा आबद्ध सन्दीप मंगलबार क्यानडा प्रस्थान गरेको उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए। मुद्दाको अन्तिम सुनुवाइ एक महिनापछि हुने भएपछि सन्दीपको क्यानडा यात्रा तय भएको हो।
सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइका लागि साउन ३२ गते पेशी तोकिएको छ। शुक्रबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएर सन्दीपले तारेख बुझेका थिए। उनको खेल तालिकालाई असर नपर्ने गरी अदालतले पेशी तोकेको हो।
क्यानडाबाट फर्किएपछि फाइनल सुनुवाइ हुने छ। जसअनुसार सन्दीपले १ देखी २२ साउन सम्म क्यानडा जाने जानकारी अदालतलाई गराएका छन्। अदालतले उनको मुद्दाको अन्तिम सुनुवाइको पेशी ३२ साउनका लागि तोकेको छ।
ग्लोबल टि २० को तेस्रो संस्करण यही जुलाई २१ देखि अगस्ट ६ सम्म हुने छ। जसमा ६ टोलिले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष चार टोलि प्लेअफका लागि छनोट हुनेछन्। अगस्ट ४ देखि ६ सम्म प्लेअफका खेल सञ्चालन हुनेछन्।
सन् २०१८/२०१९ पछि यो प्रतियोगिता अहिले सञ्चालन हुन लागेको हो।










