कांग्रेस केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिना मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् ।

उनले अरू ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका छन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरूले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाई छ ।

उनले भने ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अप्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ । केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्यो भन्दा बाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्य योजना पेस गरेका छन् । त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आगामी एक वर्ष भित्रमा ७ लाख नयाँ पार्टी सदस्य बनाउने गरी घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ अभियान सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।

उनले भने ‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र प्रत्येक विभागले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कार्यक्रमहरू बनाई कार्यतालिका सहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम बर्सभरिको गतिविधिको प्रगति विवरण ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने । समितिहरूले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो । साउन २० गतेदेखि २०८१ असार ३१ गतेसम्म घर घर जाऊँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान सुरु हुने । यो अभियानमा कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्नेछ ।’

पार्टीका सबै दस्ताबेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि उनको प्रस्ताव छ । यसको निम्ति कामहरू भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =