काठमाडौँमा नयाँ पार्किङ शुल्क निर्धारण, प्रतिघण्टाको कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सवारीसाधन पार्किङका लागि नयाँ नियम ल्याइएको छ । मेयर बालेन्द्र शाहले अब व्यवसायिक भवनदेखि अस्पतालहरूका लागि नयाँ नियम सार्वजनिक गरेका हुन् । महानगर क्षेत्रभित्र पार्किङबारे १४ बुँदामा नियमहरू जारी गरिएको हो ।

  • यस्ता छन् नियमहरू :-

१. काठमाडौँ महानगरपालिका भित्रका व्यवसायिक भवनहरु (निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स , मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ ।

२. महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो । बहुतले आवासीय वा व्यावसायिक भवनहरूमा रहेका/भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही बाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिनेछ ।

३. व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ व्यवस्था गरिएको छ । पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गर्नेछ । यस्ता स्थानबाट सम्पत्ति करसहित सम्बन्धित अन्य कर असुल गरिनेछ ।

४. सार्वजनिक सडकहरूमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन । काठमाडौँ महानगरपालिका आफैँले निश्चित अवधि तोकेर दिएको कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए बापत निश्चित सवारी साधन पार्किङ शुल्क लगाइ असुल गरिनेछ ।

५. निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिएको हुनु पर्छ ।

६. महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ)बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । यो ऐन जारी भएकाबखत महानगरपालिकाले अवधि तोकेर पार्किङ सुविधा उपलब्ध गराएका स्थानका लागि क्षेत्र तोकेर शुल्क निर्धारण भएको छ ।

७. पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नु पर्नेछ । क्षेत्र र समयका आधारमा महानगर आफैँले वा निजी क्षेत्रको सहयोगमा पार्किङ सञ्चालन व्यवस्थापन हुनेछ ।

८. न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म)काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । यस क्षेत्रमा सवारी साधन पार्किङ गरेबापत २ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पाङ्ग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ ।

९. क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पाङ्ग्रे सवारी साधन पार्किङ गरेबापत प्रति घण्टा १५ रुपैयाँ, ४ पाङ्ग्रेका लागि ४० रुपैयाँ र ४ पाङ्ग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।

१०. निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रूपमा सञ्चालित पार्किङमा २ पाङ्ग्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । यस्तै ४ पाङ्ग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ ।

११. लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यवसायलाई व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ । महानगरपालिका आफैँले वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्ने ऐनमा उल्लेख गरिएको छ । यसका लागि निजी क्षेत्रलाई पार्किङ स्थल निर्माण गर्न प्रोत्साहित गरिनेछ । सवारी साधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाले तोक्न सक्नेछ ।

१२. अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सवारी साधनहरूलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपत्कालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था हुनेछ ।

१३. नक्सापास गर्दा भूमिगत पार्किङ क्षेत्र उल्लेख गरी व्यावसायिक प्रयोजन रहेको भवनको पार्किङ क्षेत्रलाई सहज गराउन सार्वजनिक संरचनाले अवरोध गरेको भए सो संरचनाको सुधारमा महानगरपालिकाले सहजीकरण गर्नेछ । भवन निर्माण गर्दा तथा नक्सा पास गर्दा भवनको क्षेत्रफल र उपयोगिताका आधारमा तोकिएको क्षेत्रमा अनिवार्य पार्किङ उपलब्ध गराउनु पर्नेछ ।

१४. पार्किङ क्षेत्रमा अनिवार्य रूपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ संकेत वा चिन्ह प्रयोग गरेर सूचना पाटी राख्नु पर्नेछ । सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङ सम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनु पर्नेछ । पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ्ग गर्नु पर्नेछ । यसको विवरण नियमित रूपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *