बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री विजय यादव

काठमाडौँ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ।

यादवलाई बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यादव विरुद्ध जिल्ला अदालत रुपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेको रूपन्देही प्रहरीको सोही पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको हो।

पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादवले दलले टिकट नदिएको झोँकमा पार्टी परिवर्तन गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरी बाँके क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्रीसमेत बनेका थिए।

शंकर पोखरेल नेतृत्वको पछिल्लो सरकारको पालामा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सहभागी भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।

२०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बनेका यादव निर्वाचनमा भने पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *