देउवालाई दलको नेताबाट हटाउने गगन थापाको प्रयास जारी

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्ने बताएका छन्।

आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको बताए।

आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको थापाले बताएका छन्।

संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए।

मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक महामन्त्री थापाको भनाई छ।

उनले भने, ‘मैले संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेको हो । हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन । प्रतिष्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिष्पर्धा गरेको हो। यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन।’

उनले थपे, ‘मैले साथीहरुसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिबेला मौका आउला भनेर हेरिराख्ने गरेन भने चाहीँ अस्वभाविक हो । त्यो मैले गर्नैपर्छ । यो सबैकुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो । संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्नेकुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोईरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो ।’

महामन्त्री थापाले संसदीय दलको नेता बदल्नेकुरामा आफू निरन्तर लागिरहने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =