जयनगर–कुर्था खण्ड महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालनमा

काठमाडौँ । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ ।

गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् ।

कुर्थाबाट बिजलपुरासम्मका निर्माणकार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर उक्त रेल सेवाको शुभारम्भ गरेका हुन् ।

रेल सेवा उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुबाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । उनले जयनगर विजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए । उनले रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुघार हुने विश्वास लिएको बताए । मन्त्री ज्वालाले बर्दिबासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्‍याउने सरकारको प्राथमिकतामा रहेको बताए । उनले निजगढदेखि काठमाडौँसम्मको डीपीआर तयारी भएको भन्दै निर्माणको लागि सरकार छलफलमा रहेको बताए । उनले सरकारले रेल यातायातलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनाउने सरकारको तयारी रहेको बताए । उनले ठेक्का लागेका आयोजनाहरुको निर्माण कार्य विभिन्न कारणले निमार्ण कार्य रोक्ने कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने बताए । उनले सरकारले मधेस प्रदेशलाई प्रमुख प्राथमिकता दिएको बताए । मधेसमा मिटरव्याजी, लघुवित्त समस्या समाधान सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन शुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने बताए । उनले दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट विजलपुरा जनकपुर क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने बताए ।

उनले अब रेल्वे कम्पनी सधँ घाटा नाफाको समाचार भन्दा पनि दीर्घकालीन सेवा विस्तार गरी कम्पनी आफ्नो क्षमतामा चल्नसक्ने बनाउने बताए । उनले कम्पनीले यो क्षेत्रमा आवश्यकतालाई हेरेर आगामी दिनमा रेल थप गर्ने प्रतिवद्धता जनाए । उनले त्यसका लागि कम्पनीले योजना बनाएर अघि बढेको बताए ।

कुर्थाबाट जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ ।

बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भए पनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा बिस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो ।

सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेशन/हल्ट रहेका छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *