लम्पी स्किन रोग नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै किसानले थाले धर्ना
२०८० असार २७ गते

काठमाडौँ । सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरूले धर्ना समेत दिन थालेका छन् ।
बुधबार ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरूले आफूहरूको माग सम्बोधन गर्न दबाब स्वरूप एक घण्टा धर्ना दिएका हुन् । यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरूले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताए ।
उनले पशुपालन किसानहरूले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताए । उनले भने, ‘तुरुन्त यो रोगको नियन्त्रण गर्नुपर्याे । र, पशुपालन किसानहरूलाई राहत दिनु पर्याे । विस्थापित हुन लागेका किसानहरूलाई पुनर्स्थापन गर्नु पर्याे । जुन कर्जा लिएर गरिराख्नु भएको छ । उहाँहरूलाई कर्जा मिनाहा गर्नु पर्याे । पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्नु पर्याे । र, प्राविधिक चाहिँ किसानका घरघरमा पुग्नु पर्याे । पशु व्यवसाय गरिरहेका किसानलाई सुलभ कर्जाको व्यवस्था सरकारले उपलब्ध गराउनु पर्छ भन्ने लगायत मागहरू राखेर हामी आन्दोलनमा उत्रिरहेका छौँ ।’
पीडित किसानहरूले पशु आफूहरूका लागि बिमाको भुक्तानी गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताएका छन् । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरूको पुर्नस्थापना र उनीहरूका लागि बिमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौँका इन्चार्ज पुस्कर प्याकुरेलले बताए । उनले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।
प्याकुरेलले भने, ‘ग्रामीण क्षेत्रका किसानहरू यतिबेला पूरै आहात भएका छन् । ७० प्रतिशत भन्दा बढी पशु चौपायहरुलाई चाहिँ लम्पीस्किनको कारण मरिसकेको छ । त्यसका निम्ति पशुको बिमा पनि क्लेम गर्न नसक्ने अवस्था देखिएको छ । र, पशु चौपायहरुको बिमाको पनि हामीले क्लेम गरिराखेका छौँ । छिट्टै यो महामारी रोग नियन्त्रणका निम्ति भ्याक्सिनको माग हामीले गरिराखेका छौँ । पशुको औषधि उपचारका कुरा, बिमाका कुरा र पशुपालन किसानहरूको विस्थापित हुने अवस्था छ । त्यसलाई पनि निरूपण गर्ने हिसाबले राज्यले सोचोस् भन्ने ढङ्गले हामीले यो महामारी विरुद्ध किसान सञ्जालको आयोजनामा हामीले धर्ना कार्यक्रम राखेका हौँ ।’
राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पी स्किन रोगको महामारी नियन्त्रण गरी पीडित किसानलाई राहतको घोषणा गर, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरूको वास्तविक लागत सङ्कलन गरियोस्, पशुहरूमा लागेको लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस्, महामारीबाट क्षति भएका पशुहरूको किसानलाई राहत र क्षतिपूर्ति दिइयोस्, लम्पी स्किन रोगको महामारीबाट मरेका पशुहरूको वास्तविक लागत सङ्कलन गरियोस् भन्ने लेखिएको प्ले कार्डहरू पनि प्रदर्शन गरिएको थियो ।
२०८० असार २७ गते
प्रतिक्रिया








