दुर्गा प्रसाईंको चतुर्‍याइँ : ३० करोड चन्दा नदिए मार्ने धम्की दिनेलाई ५ करोड लिन बोलाएर पक्राए

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मोबाइलमा गत १३ असारको साँझ ६ बजेर १२ मिनेटदेखि पटकपटक फोनको घण्टी बज्यो । धम्कीपूर्ण र आग्रहयुक्त एसएमएस पनि निकै नै आए ।

हरेक फोनवार्ता र एसएमएसमा उनीसँग चन्दाका नाममा करोडौँ रकम मागिन्थ्यो, नदिए अपहरण गर्ने र त्यसपछि हत्या गर्ने योजना बनिसकेको सुनाइन्थ्यो । बाँच्ने मन छ भने मागेजतिको रकम दिन भनिन्थ्यो । तर्साउनका लागि तपाईँको नाम दुई नम्बरमा छ पनि भनिन्थ्यो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार, सुरुवाती चरणमा उनीसँग ३० करोड रुपैयाँ मागिएको थियो । प्रसाईँलाई प्रवेश लामाको नामबाट यस्तो धम्की आएको थियो । यद्यपि, उनी प्रवेश लामा नभई रमेशकुमार गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रसाईँलाई यसरी धम्क्याउने ४० वर्षीय गुरुङ खोटाङको रावाबेंसी गाउँपालिका–१ स्थायी घर भई काठमाडौँको चुनदेवी बस्ने व्यक्ति हुन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बार्गेनिङपछि फिरौती लिन आएको अवस्थामा गुरुङलाई मंगलबार पक्राउ गरेको हो । प्रसाईँले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा अभियुक्तसम्म पुग्न सफल भएको ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । गुरुङलाई पक्राउपछि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ । अभियुक्तविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।

स्रोतका अनुसार, ३० करोड रुपैयाँ मागेका गुरुङलाई प्रसाईँले ५ करोड रुपैयाँ दिन सकिने र रकम लिन महाराजगन्ज आउन भनेका थिए । त्यसअगावै यी सबै जानकारी प्रसाईँले प्रहरीलाई दिइसकेका थिए । रकम पाउने आशमा पूर्वनिर्धारित ठाउँ महाराजगन्ज पुगेकै बेला ब्युरोको टोलीले गुरुङलाई नियन्त्रणमा लिन सफल भएको थियो । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =