आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरू खुसी छैनन् : तारामान स्वाँर

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाहरू बाहेक सबै असन्तुष्ट रहेको बताएका छन् ।
मङ्गलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सत्ता पक्ष भएकाले आफूहरूले बजेट पास गर्नुपर्ने बाध्यता भए पनि सन्तुष्टिका साथ पास नहुने बताए । उनले खर्च कटौतीको प्रस्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको बताए ।
उनले भने ‘अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्युहरुले खर्च कटौतीको प्रस्ताव पेस गरे । खर्च कटौतीको प्रस्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ । सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरू मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ । मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्ता पक्षका मान्यहरू समेत सन्तुष्ट छैनौँ । केही नेता र मन्त्री र बिचौलियाहरू बाहेक सबै असन्तुष्ट छन् । प्रतिनिधि सभामा त पारित भइसकेको छ, सत्ता पक्षका हामी सांसदले पारित त राष्ट्रिय सभामा पनि गरौँला तर सन्तुष्टिका साथ होइन ।’
राष्ट्रिय सभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदहरूले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गरे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + five =