आश्चर्यचकित आरजु- प्रहरीबाट ‘टेप’ कसरी बाहिरियो ?

भुटानी शरणार्थी प्रकरणमा मलाई रकम दिएको भन्ने अडिओ योजनाबद्ध हो

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडिओ योजनाबद्ध रूपमा रेकर्ड गरिएको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडिओमा योजनाबद्ध रूपमा रेकर्ड गरिएको बताएकी हुन् ।

आरोपितहरूले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रूपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडिओ बाहिर ल्याइएको बताइन् । उनले नेपाल प्रहरीले तथ्यहीन अडिओलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

सांसद राणाले अमरेशकुमार सिंहविरुद्ध आफूले मानहानिको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरू पुष्टि गर्न चुनौती समेत दिइन् ।

यस्तो छ उनको भनाई :-
‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो । तर उसले जे भनेको छ, त्यो चाहिँ गलत भनेको र उसले आफैपनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो । म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ । र अदालतमा पनि त्यही बयान दिनुभएको छ । अर्कोकुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप जुन ४ गते नै त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ । त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ । ४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ? यो मेरो लागि पनि ठूलो प्रश्न हो । भोली कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ । मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो । जब उनीहरूलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर । त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =