प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएँ : प्रधानमन्त्री दाहाल
२०८० असार २५ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति भावनामा आएर दिएको बताएका हुन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताएका हुन् । उनले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफूलाई प्रधानमन्त्री बनेको देख्न चाहने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पारे ।
भावनात्मक र पारिवारिक वातावरणमा भएको सो कुरालाई मात्र आफूले पुस्तक विमोचन कार्यक्रममा राखेको उनले उल्लेख गरे । प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत गरे । उनले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुनेखालको नभएको बताए । उनले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफूले स्वीकार गरेको बताए ।
उनले भने ‘त्यही क्रममा सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाई नै हुनुपर्छ भन्ने प्रसङ्ग उठाउनु भयो त्यतिबेला । उनले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ । मैले उहाँलाई फेरि प्रधानमन्त्री बनाइदिओस् भनेर भन्नेकुरा पनि थिएन । तर उहाँले भावनामा आएर तपाई हुनुपर्छ, यो परिवर्तन ल्याउने मुख्य तपाई हो त्यसकारण प्रधानमन्त्री तपाई हुँदाखेरी हुन्छ । मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु । नेपालमा पनि भन्नुभएको छ उहाँले त्यतिबेला । नेपालमा पनि पार्टीहरू सँग कुरा गर्ने गरेको छु । तपाईँलाई प्रधानमन्त्री बनाउन भनेर उहाँले भन्नुभयो । मैले धन्यवाद भने । त्यहाँभन्दा बढी उहाँलाई तपाईँको यो शुभेच्छाको निम्ति धन्यवाद तर अहिले त्यो स्थिति छैन । थिएन पनि । त्यसकारण एउटा कुरा बडो प्रस्ट शब्दमा यो सम्मानित सदन समक्ष के भन्न चाहन्छु भने यो मेरो कुरापनि थिएन । मेरो अनुरोध पनि थिएन । आग्रह पनि थिएन । एउटा भावनात्मक वातावरणमा, पारिवारिक वातावरणमा अलिकति भावुक बनेर प्रितम सिंहले नै उठाएको कुरा जसप्रति मैले तपाईँको सदासयताका निम्ति धन्यवाद बाहेक अरू भन्न पनि सक्दैनथेँ । भन्नुको अर्थपनि थिएन । अस्ति पुस्तक विमोचन यो त ११ वर्ष पछिको कुरा भयो । उहाँले गरेको सामाजिक काम भन्दै जाँदा मैले झट्ट ०६८/०६९ को छोरी डेथ बेडमा हुँदाखेरिको कुरा सम्झे र मैले भनेँ त्यहाँ, सरदार प्रितम सिंह खालि सामाजिक सेवा र यातायातमा मात्रै होइन राजनीतिमा पनि रुचि राख्नुहुन्छ उहाँले । उहाँले एउटा चरणमा मलाई प्रधानमन्त्री बनाउन दिल्लीमा पनि कुरा गरेको कुरा र देशभित्रका राजनीतिक दलसँग पनि गरेको कुरा उहाँले गर्नुभएको थियो । त्यसकारण राजनीतिमा पनि रुचि राख्नुहुन्छ उहाँ त भन्ने प्रसङ्गमा मैले त्यो कुरा भने । बोल्दै जाँदा मैले सम्झेको ०६८/०६९ कै कुरा हो । त्यो बेडपनि सम्झिएँ । जहाँ छोरी सुतिराखेको थियो । उठ्न सक्दैनथ्यो । प्रितमले भनेको कुर्सिपनि सम्झिएँ । यहाँहरू सबैलाई थाहा छ म अलिकति भावनात्मक त छु नै यही त प्रचण्ड भयो । अब गर्नुहुन्छ के ? थोरै भावनामा आएँ । र मैले त्यो कुरा नभने हुन्थ्यो । त्यो भन्नुपर्ने जरुरी त थिएन मलाई । तर मैले भने । मनमा आयो भनेँ । के मैले राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वाभाविक कुरा प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपथ्र्यो । तर त्यो दिन मलाई के सम्झना छ भने म प्रधानमन्त्री भएर बोलिन । म ज्ञानुको बुबा भएर बोल्न पुँगे । र त्यो सेन्टीमेन्ट सम्झिन पुगे मैले । र प्रितम सिंहको सदासयता प्रति धन्यवाद दिन पुँगे । त्यति त हो कुरा । यसले मैले हिजो क्रान्तिकालमा राष्ट्रको स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति लडाइँ लडेको वर्षौँसम्म काटियो, सिद्धियो यतिले ?’
प्रधानमन्त्री दाहालले प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन सक्ने हैसियतका कुनै शक्ति केन्द्र नभएको बताए । उनले आफ्नो कमजोरी नै सार्वजनिक र निजी कार्यक्रमहरूमा फरक रूपमा प्रस्तुत हुन नसक्ने रहेको भन्दै आफू मनले बोल्ने गरेको पनि बताए । उनले आफ्नो भावुकता ठिक नभएको निष्कर्षमा पुगेको पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले आफ्नो स्वभावजन्य भावुकताको लागि सदन समक्ष आत्मसमिक्षा गरेको बताए । उनले अभिव्यक्ति दिँदा आगामी दिनमा सतर्क रहने बताए ।
उनले भने ‘हामी सबैलाई थाहा छ, प्रितम सिंह कुनै शक्ति केन्द्र होइनन् । उनले भनेर कसैलाई प्रधानमन्त्री बन्ने या प्रधानमन्त्री हटाउने सामर्थ्य पनि छैन । र त्यस्तो सम्पर्क व्यक्ति पनि होइनन् । सायद हिजो अस्ति प्रितमले आफैले पनि भनेको छन् मेरो के हैसियत ? मेरो उनसँग कुनै नेता वा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । उनीसँग मेरो एउटा बिरामी छोरीलाई सङ्कटमा आश्रय र सहयोग गरेकोमा कृतज्ञ बाबुको सम्बन्ध मात्र हो मेरो । मेरो सबल पक्ष भनेपनि या कमजोरी भनेपनि म सार्वजनिक र निजी कार्यक्रमरमा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ मलाई । सायद यो मेरो कमजोरी पनि हो । सायद मेरो सबल पक्षपनि यसभित्र अन्तर्निहित छ कि ? निजी जस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । बोल्न त राजनीतिज्ञले अझ प्रधानमन्त्रीले मनले भन्दा दिमागले बढी बोल्नुपर्ने हो । बोल्नुपर्ने त्यो हो भन्ने पनि सैद्धान्तिक रूपले मलाई ज्ञान नभएको होइन । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडी हुन्छ । कहिले दिमाग अगाडी हुन्छ । दिमाग अगाडी भएको बेलामा विज्ञान हाबी भइराखेको हुन्छ । मन अगाडी भएको बेलामा आवेग, आवेश भनौँ या भावना भइराखेको हुन्छ । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको चाहिँ होइन । मलाइ पटक पटक मेरो दलभित्र पनि, समाजमा सबैले , राजनीतिक दलका नेताहरूले पनि मलाई सुझाव नदिएको पनि होइन । तर ७० वर्षतिर अगाडी बढिराखेको समयमा यो बदल्ने भन्नेकुरा फलामको च्युरा हुँदो रहेछ । अबदेखि त बदल्छु भन्यो । बोल्दै जाँदा आइहाल्छ फेरी । सदनको अगाडी इमानदारितासाथ यो तथ्य राख्नु बाहेक मसँग के विकल्प छ र ? यही हो म । यही हो प्रचण्ड । विषयवस्तुको अन्तर्य भन्दापनि शब्द र रूप हेर्ने संस्कार अहिले हाबी भइरहेको बेला मेरो यो तहको भावुकता ठिक नभएको निष्कर्षमा म पुगेकै छु । यो भावुकताले काम दिँदैन भन्ने निष्कर्षमा म पुगेकै छु । तर स्वभाववश म अन्र्तमतको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र कुनै मैलो छैन । नियत सफा छ भने भित्र र बाहिरका अभिव्यक्तिहरू समान हुँदा रहेछन् । यो स्वभावजन्य भावुकताका लागि म सदनसमक्ष आत्मसमिक्षा गर्न चाहन्छु । र भविष्यमा यहाँ चलेको बहसले मलाई सतर्क हुन उत्प्रेरित गर्ने ठानेको छु र यसअर्थमा प्रतिपक्षलाई पनि म धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले दलहरूले आफूलाई प्रधानमन्त्री कसले बनाउने भनेर प्रश्न गरेर राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको अवहेलना गरेको बताए । उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समिति सभापति चयनको सम्बन्धमा र अन्य विधेयकहरू पारित गर्ने सम्बन्धमा निरन्तर छलफल भइरहेको भन्दै भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि नभएको स्पष्ट पारे । ओलीसँगको भेटघाट भ्रष्टाचारको मुद्दामा लेनदेन गर्नका लागि हो भनी कपोकल्पित कुरा बाहिर आएकोप्रति उनले खण्डन गरे ।
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








