गोरखा भर्तीमा राष्ट्रिय सहमति जुटाएर मात्रै निर्णय लिन्छौँ : मन्त्री साउद
२०८० असार २५ गते

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गोरखा भर्तीबारे राष्ट्रिय सहमति जुटाएर मात्रै निर्णय लिने बताएका छन् ।
सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारतमा कानुन परिवर्तन भएपछि भर्ना सम्बन्धी प्रक्रिया रोकिएको बताए । उनले अहिलेसम्म सरकारको तर्फबाट कुनै कूटनीतिक छलफल हुन नसकेपनि राष्ट्रिय सहमति गरेर नै अघि बढ्ने सरकारको उद्देश्य रहेको बताए ।
उनले भने, ‘भारतमा गोरखा सेनाका भर्तीका बारेमा नेपालको परम्परागत रूपमा केही देशसँग सेना भर्तीसम्बन्धी पुरानो सम्झौता भएको र भारतमा अहिले कानुनमा परिवर्तन भएपछि भर्ना सम्बन्धी प्रक्रिया रोकिएको अवस्था छ । यसको बारेमा कुनै अफिसियल रूपमा कूटनीतिक छलफल भएको छैन, तत्कालका लागि हाम्रो नीति यस्ता कुरामा राष्ट्रिय सहमति गरेर नै अघि बढ्ने भनेर उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछ ।’
मन्त्री साउदले गोरखा भर्तीबारे उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए । उनले परराष्ट्र मन्त्रालयको पुनर्गठन आवश्यक रहेको बताए । उनले परराष्ट्र मन्त्रालयलाई दिइएको दायित्व पूरा गर्न न्यूनतम जनशक्ति आवश्यक रहेको बताए ।
उनले भने ‘परराष्ट्र मन्त्रालयको रिस्ट्रक्चरिङ गर्नुपर्छ । यसमा जति परराष्ट्र मन्त्रालयलाई जति दायित्व दिइएको छ, त्यसलाई निर्वाह गर्न न्यूनतम जनशक्ति हामीसँग हुनैपर्छ । जति नेपालको सम्बन्ध बाहिर बिस्तार हुँदै गएको छ, विस्तारित कुरालाई मध्यनजर गरी बाहिर जानेहरूको हितलाई हेरेर काम गर्न जरुरी छ ।’
मन्त्री साउदले नेपालको बिस्तार हुँदै गएको सम्बन्धलाई मध्यनजर गरी सबै पक्षको हित हुने गरी काम गर्ने बताए ।
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








